तीन दिने क्षमता अभिवृद्धि तालिम सुरू

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम माघ २० गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ ।

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अर्न्तगत उक्त तालिम सुरू भएको हो ।

photo20170203surkhet

तालिमको उदघाटन गर्दै इन्सेकका क्षेत्रीय संयोजक भोला महतले आफ्नो अधिकारको बारेमा सचेत नभएसम्म कुनैपनि बालबालिकाहरूको समग्र विकास हुन नसक्ने बताए ।

दैलेख र सुर्खेत जिल्लामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहका सदस्यहरू सहभागी  तालिममा बाल अधिकार, बाल अधिकारको वर्तमान अवस्था, विकासक्रम, बालमैत्री विद्यालय र दण्डरहीत शिक्षा, विद्यालय तहमा बाल अधिकार र मानव अधिकार शिक्षाको अवधारणा, बाल मनोविज्ञान, बाल अधिकार प्रवर्धनमा स्थानीय निकायको भूमिका, बाल अधिकार चेतना समूहको काम, कर्तव्य, अधिकार तथा संविधानमा शिक्षा र बाल अधिकारलगायतका विषयमा छलफल गरिने महतले बताए ।

तालिममा दैलखको वयलपाटा र लाकुरी तथा सुर्खेतको साहारे र मालारानी गाविसका आठवटा विद्यालयमा गठित बालअधिकार चेतना समूहका २४ जनाको सहभागिता रहेको छ ।

दुर्गा थापा