ताप्लेजुङमा वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

इन्सेक ताप्लेजुङको आयोजनामा मङ्सिर २५ गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित मानव अधिकार हनन् र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

photo20161210taplejung

कार्यक्रममा इन्सेक प्रतिनिधि देवराज गुरुङले सन् २०१६ को यो अवधिमा जिल्लामा भएका मानव अधिकार हनन् र ज्यादतीका १८ ओटा घटना सार्वजनिक गरे । जसमा बलात्कार तथा बलात्कार प्रयासका आठ ओटा, घरेलु हिंसाका नौ ओटा र वहुविवाहको एउटा घटना अभिलेख गरिएको गुरूङद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले इन्सेकले जिम्मेवारीपूर्ण रूपमा मानव अधिकारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 'मानवअधिकारको रक्षा गर्नु मानव अधिकारको क्षेत्रमा आवद्ध सङ्घसंस्थाको मात्र नभई सबैको साझा दायित्व हुनुपर्छ ।-उनले भने ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बालबालिकाहरू विद्यालय जान नपाई पढ्न पाउने अधिकारबाट वञ्चित हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै समस्या समाधानका लागि तत्काल पहल थाल्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका प्रतिनिधि काजी भट्टराईले इन्सेकको तथ्याङ् भरपर्दो र विश्वासिलो हुने भएकाले जिल्लाका कुनै पनि घटना वर्षपुस्तकमा छुट्न नहुने बताए ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रामबहादुर केसीले प्रहरीबाट हुने कमीकमजोरीहरू सङ्घसंस्थाले जिम्मेवारीपूर्ण तवरले औँल्याइदिएको खण्डमा सच्याउन तत्पर रहेको बताउँदै पछिल्लो समयमा प्रहरीबाट अनुसन्धानको क्रममा पीडित र पीडक दुवैलाई मानव अधिकारमैत्री व्यवहार हुने गरेको बताए ।

कार्यक्रममा अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष चित्राकुमारी मेन्याङबोले राजनीतिक दलमा महिला सहभागिता पार्टीको विधान बमोजिम नहुने गरेकोले त्यसमा सुधार गर्नुपर्ने बताइन् ।

देवराज गुरुङ