तत्काल विद्यालय सञ्चालनमा ल्याउन अभिभावकको माग

  ०७८ भदौ २९ गते

भोक्राहा नरसिंह गाउँपालिका–७ का स्थानीयले कोभिड–१९ का कारण बन्द भएका विद्यालय तत्काल खोल्नुपर्ने माग गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको सहयोग, मानव अधिकार समूहको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका–७ कार्यालयको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा समस्या पहिचान र सरोकारवाला पहिचान गर्न भदौ २८ गते आयोजित कार्यक्रमा अभिभावकहरूले बन्द विद्यालय तत्काल खोल्न माग गरेका हुन् ।

मानव अधिकार समूह र सरोकारवाहरूबिचको समस्या पहिचान कार्यक्रममा स्थानीयस्तरमा रहेका विभिन्न समस्याहरूको पहिचान गरी समाधान गर्ने निर्णय र पहल गर्ने प्रतिवद्धता अनुसार वडामा कार्यक्रम गरिएको मानव अधिकार समूहकी सदस्य पूजा मण्डलले बताउनु भयो ।

कक्षा १२ का विधार्थीलाई खोप दिएजस्तै सबै विद्यार्थीहरूलाई कोभिड–१९ विरूद्धको खोप उपलव्ध गराउनु पर्ने, अनलाइन कक्षाको प्रभावकारिता गाउँमा नहुने भएकाले भौतिक उपस्थितीमा पठनपाठन सुचारू गरिनुपर्र्ने,सबै स्वास्थ्य केन्द्रहरूमा ३५ प्रकारका औषधि निःशुल्क उपलव्ध गराउनुपर्ने, सरूवा तथा नसर्ने रोगको बारेमा सचेतना फैलाउनुपर्ने लगायतका विषयमा स्थानीयहरू आवाज उठाएको मानव अधिकार समूहका सदस्य नुनुलाल शाहले बताउनु भयो ।

छलफलबाट शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा आएका समस्यालाई समाधान गर्न मानव अधिकार समूहले पहल गर्ने र सरोकारवालाहरूलाई ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र बुझाउने सदस्य नुनुलाल शाहले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले वडामै कृषि प्राविधिकको व्यवस्था गर्नुपर्ने, मल, विऊको उचित व्यवस्थापन र वास्तविक किसानको छनौट गरी वितरण गर्नुपर्ने र अनुदानमा किसानको पहुँच स्थापित हुनु पर्ने माग गरेका छन् ।

भूमिहीन, सुकुम्वासी, दलित, किसानहरूलाई भूमि र आवासको व्यवस्था गर्न पहल गर्ने समेत निर्णय भएको मानव अधिकार समूहका सचिव बेलाल अञ्सारीले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले जिल्ला प्रशासन कार्यालय र गाउँपालिकालाई बन्द विद्यालय नखुले बालबालिकाको भविष्य अन्यौलमा पर्ने भएकाले बन्द रहेका सरकारी विद्यालयलाई खोल्नुपर्नेमा जोड दिएका छन् ।

Photo 202101309 Sunsari (2)

Photo 202101309 Sunsari (6)

Photo 202101309 Sunsari (7)

Photo 202101309 Sunsari (8)

जयकृष्ण यादव