जिल्ला स्तरीय बहस तथा सम्वाद बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पाल्पा जिल्लामा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय बहस तथा सम्वाद बैठक वैशाख २९ गते तानसेनमा सम्पन्न भएको छ ।

Photo20170512Palpa

बैठकमा इन्सेकले कार्यक्रम सञ्चालन गरेको साविकका चापपानी र खानीगाउँ गाविसमा मानव अधिकार निगरानी समूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी समस्या र जिल्ला स्तरीय समस्याबारे छलफल र समाधानका उपाय विषयमा छलफल गरिएको थियो ।

बैठकमा सहभागीहरूले सेवाप्रदायक निकायहरू शिक्षा कार्यालय, पशु सेवा कार्यालय, कृषि विकास कार्यालय र स्वास्थ्य कार्यालयको सेवाप्रवाह र गुनासा राखेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयका डा. पुष्पराज ज्ञवाली, निमित्त जिल्ला शिक्षा अधिकारी महेन्द्र सुवेदी, जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी डा. उत्तम आचार्य, कृषि विकास कार्यालयका सूचना अधिकारी इश्मुल्लाह खाँले सहभागीहरूका जिज्ञासाको जबाफ दिएका थिए ।

सो अवसरमा बरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार मुक्तिप्रसाद न्यौपाने, मानव अधिकारकर्मी शालिकराम पाण्डे, गैसरकारी संस्था महासङ्घ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना, पत्रकार महासङ्घ पाल्पाका उपाध्यक्ष भरत शर्माले सेवाप्रदायक निकायको सेवाप्रवाहको अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सेवाप्रदायक कार्यालयका प्रमुख, पत्रकार, मानव अधिकारकर्मी, मानव अधिकार निगरानी समूहका पदाधिकारी, सदस्य, युवा समूहका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यज्ञमूर्ति तिमिल्सिना