जिल्ला प्रतिनिधिसँगको अन्तरक्रिया सम्पन्न

  ०७९ असार १२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरूसँग प्रदेशका मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १० गते मकवानपुरको इन्द्रसरोवर–१ मार्खुमा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मूख्य निर्वाचन आयुक्तको कार्यलयमा माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड गरेको बताउनु भयो । यसले गर्दा जिल्लामा द्वन्द्वको स्थिति नआए पनि स्वच्छ र भयरहित निर्वाचन हुन नसकेको बताउनुभयो ।

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले सन् २०२२ जनवरीदेखि जुनसम्म चितवनमा ६६ ओटा मानव अधिकार उल्लङ्घनको घटना मध्ये बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढी भएको बताउनु भयो । जिल्लामा बलात्कारपछि हत्याको घटनामा बृद्धि हुन थालेको जिकीर गर्नुभयो ।

यस्तै इन्सेक मानव अधिकारको अभिलेखिकरण गर्ने एक मात्र संस्था भएकोले जिल्लामा इन्सेकको विश्वसनीयता बढेको उहाँको भनाई थियो ।

जिल्लाका मानव अधिकार उल्लङ्घनका घटनाहरू अभिलेख गर्ने, पुष्टि गर्ने, अपडेट गर्ने लगायतको कार्य दैनिक रुपमा गरिरहेको दोलखा प्रतिनिधि उद्धव पोखरेलले बताउनु भयो ।

इन्सेक मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीले जिल्लामा हत्या, कुटपिट, बलात्कार र घरेलु हिंसा लगायतका मानव अधिकार उल्लङ्घनका घटनाहरू विगत भन्दा बढी नै भइरहेको बताउनु भयो ।

इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख कृष्ण गौतमले मानव अधिकारका क्षेत्रमा पीडितको न्यायका लागि पहल गरेको घटनाको विस्तृत विवरण तथा कागजातहरु समेत अभिलेख तयार गर्न आग्रह गर्नु भयो । उहाँले मानव अधिकार उल्लङ्घनका घटनाका पीडितलाई भेटेर घटना अभिलेखन कार्य गर्न र पीडितको न्यायका लागि सम्बन्धित निकायमा पहल गर्न इन्सेक प्रतिनिधिलाई उहाँले निर्देशन गर्नु भयो ।

यसैगरी इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले हामीले दैनिक गर्ने कार्य नै पीडितको न्यायका लागि पहल भएकोले त्यसलाई अभिलेखिकरण गरेर प्रदेशमा पठाउन जिल्ला प्रतिनिधिलाई सुझाव दिनु भयो ।

मासिक रूपमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको डाटा इन्ट्री, मासिक प्रतिवेदन लगायत तोकिएका कार्य सम्पानमा प्रतिनिधि स्वयम् अग्रसर हुन पनि उहाँले आग्रह गर्नु भयो ।

Markhu Meeting 2079

पुष्पराज अधिकारी