जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया सम्पन्न

  ०७९ असार १२ गते 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम असार १० गते धनुषाको लालगढमा सम्पन्न गरिएको छ ।

जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सप्तरी प्रतिनिधि मनोहर पोखरेलले जिल्लामा सन् २०२२ जनवरीदेखि जुनसम्म अभिलेखित ४० ओटा मानव अधिकार उल्लङ्घनको घटनामा महिला हिंसाका घटना बढी भएको बताउनु भयो ।

जिल्लामा सरोकारवाला निकायले गठन गरेका लैंगिक हिंसा कोष लगायतका समितिहरुमा इन्सेकलाई चयन गर्ने गरेको र सोही अनुसार मानव अधिकारको संरक्षण तथा सम्बर्द्धन र लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनु भयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाले सन् २०२२ जनवरीदेखि जुनसम्म रौतहटमा ३० ओटा मानव अधिकार उल्लङ्घनको घटना मध्ये बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढी भएको बताउनु भयो । मानव अधिकारको अभिलेखिकरण गर्ने एक मात्र संस्था भएकोले जिल्लामा इन्सेकको विश्वसनीयता बढेको उहाँको भनाई थियो ।

जिल्लामा घटेका मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गर्ने, पुष्टि गर्ने, अपडेट गर्ने लगायतको कार्य दैनिक रुपमा गरिरहेको रौतहट प्रतिनिधि तिमल्सिनाले बताउनु भयो ।

इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहले जिल्लामा हत्या, कुटपिट, बलात्कार र घरेलु हिंसा लगायतका मानव अधिकार उल्लङ्घनका घटनाहरु विगत भन्दा बढी नै भइरहेको बताउनु भयो ।

इन्सेक मधेस प्रदेश प्रमुख राजु पासवानले मानव अधिकार उल्लङ्घनका घटनाका पीडितलाई थलोमा भेटि घटना अभिलेखन कार्य गर्न र पीडितको न्यायका लागि सम्बन्धित निकायमा पहल गर्न इन्सेक प्रतिनिधिलाई आग्रह गर्नु भयो ।

मानव अधिकारका क्षेत्रमा पीडितको न्यायका लागि पहल गरेको घटनाको विस्तृत विवरण तथा कागजातहरु समेत अभिलेख तयार गर्न उहाँले निर्देशन गर्नु भयो ।

photo20220626dhanusha

इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम