जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

  ०७३ पुस ७ गते

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन (इएलपी) कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।

मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा पुस ७ गते घोराहीमा आयोजित अधिकारकर्मीहरूको भेलाले जिल्लामा क्रियाशील मानव अधिकार सञ्जाललाई नै मानव अधिकार निगरानी समूहको रूपमा सक्रिय बनाउने निर्णय गरेको हो ।

यसअघि पनि मानव अधिकार सञ्जालले नै निगरानी समूहको भूमिकामा काम गरिरहेकाले अर्को समिति भन्दा पनि सोही समितिलाई निगरानी समूहको रूपमा सक्रिय भूमिका निर्वाह गर्ने विषयमा अधिकारकर्मीहरू एकमत भएका हुन् ।

निगरानी समूहमा केशव कुमार शर्माको संयोजकत्वमा इन्सेक, हरप्लेस, ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाल, नागरिक समाज, जिल्ला बार, उच्च अदालत बार, खाद्यअधिकार सञ्जाल, अपाङ्ग मानव अधिकार एवम् सरोकार मञ्च, काहुराष्ट्र, मानव अधिकार प्रतिष्ठान, नेपाल पत्रकार महासङ्घ, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रलगायतका संस्थागत प्रतिनिधि निगरानी समूहको सदस्य रहेका छन् ।

समितिले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका क्षेत्रमा गाँउ र जिल्लाका सरोकारवालाबिचमा पुलको काम गर्नेछ ।

इन्सेकले अहिले दाङको लक्ष्मीपुर र सौडियारमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने कार्यक्रम सुरु गरेको छ ।

जे.एन.सागर