जिल्लास्तरीय अर्न्तक्रिया कार्यक्रम सम्पन्न

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत पोखरामा भदौ २० गते खाद्य वस्तु (तरकारी तथा फलफूलमा) विषादीको प्रयोग समस्या र समाधानका उपाय विषयक जिल्लास्तरीय अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पश्चिमाञ्चलको आयोजना, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला  पोखरा, गैरसरकारी संस्था महासङ्घ कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की, मानव अधिकार निगरानी समूह कास्कीको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा विषादी अपरेशन द्रुत विश्लेषक इकाई प्रमुख विज्ञ शिव बराल र क्षेत्रीय बाली संरक्षण प्रयोगशला प्रमुख धनबहादुर रानाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले विषादी नियन्त्रणका लागि देशमै नीति ल्याउन आवश्यक रहेको बताउँदै विषादी प्रयोग भएका तरकारी तथा फलफूल प्रयोगमा उपभोक्ता नै सचेत भए विषादी प्रयोगमा न्यूनीकरण आउने बताए ।

जिल्ला कृषि विकास कार्यलयका प्रमुख लोकेन्द्र बोहोराले कृषकले अनुदान पाउनको लागि पहिलो वर्षभन्दा दोस्रो वर्षधेरै उत्पादन गरी लक्ष्य पूरा गर्नुपर्ने भएकाले गर्दा पनि तरकारी तथा फलफूलमा विषादीको मात्रा बढेको बताए ।

क्षेत्रीय कृषि निर्देशनालयका निमित्त प्रमुख माधव लम्सालले एकीकृत किट व्यवस्थापन कृषक पाठशालामा कृषकहरूको पहुँच बढाउन आवश्यक रहेको बताउँदै विषादी न्यूनीकरणमा स्थानीय तहको जिम्मेवारी रहने हुँदा स्थानीय तहलाई सजग बनाउन आवश्यक रहेको बताए ।

कृषि सुपरजोन कास्की संयोजक रामबहादुर हमालले घरको एकजनाले विषादी विक्रेता लाइसेन्स लिएको आधारमा परिवारका सबैले विषादी बेचबिखन गरेको पाइएकाले सम्बन्धित निकायले अनुगमनलाई तीव्रता दिनुपर्ने बताए ।

कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद खनालले ट्रकमा राखेको एउटा झोलाबाट विषादी परीक्षण गरेर मात्र नतिजा राम्रो नआउने बताउँदै विषादी न्यूनीकरण गर्नको लागि कृषि फर्ममा नै गएर विषादी मापन गर्नुपर्ने बताए ।

राष्ट्रिय फलफूल तथा थोक व्यवसायी छेवाङ तामाङले किसानहरूलाई विषादी प्रयोग गर्न सिकाएर मात्र अगाडि बढाउनु पर्ने बताए । गैरसरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष पदम पहारीले कृषक सँगसँगै उपभोक्तालाई पनि सचेतना कार्यक्रम जरूरी रहेको बताए ।

संगीता भाट