जिल्लास्तरीय अनुभव आदान प्रदान बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जिल्लामा सञ्चालित 'स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम' अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक वैशाख २५ गते कलैयामा सम्पन्न भएको छ ।

Photo20180509Bara (1)

बैठकमा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारसँग सम्बन्धित सरोकारवाला निकाय जिल्ला जनस्वास्थ्य, जिल्ला पशु कार्यालय, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, कृषि विकास कार्यालयका प्रतिनिधि तथा प्रमुख, जिल्ला निगरानी समूह, समुदायमा गठित निगरानी समूह, जिल्ला समन्वय समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा मानव अधिकारकर्मीहरूसँग कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन अनुभव आदानप्रदान गरिएको हो ।

Photo20180509Bara (2)

जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंहले नागरिकको अधिकारप्रति सचेतना ल्याउने यस्तो कार्यक्रमले जिल्लाको विकासमा सघाउ पुग्ने र सम्बन्धित निकाय जिम्मेवार बन्ने बताए ।

कार्यक्रममा इन्सेक केन्द्रिय कार्यालयका व्यवस्थापन प्रमुख प्रेम पराजुलीले समाजिक परिवर्तनको लागि एकीकृत प्रयास हुनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति बाराका उपप्रमुख पवन ब्याहुत, एमाले बाराका पुर्व सचिव अद्ययानन्द पाण्डेय, जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साह, जिल्ला पशु सेवा कार्यालयका अधिकृत बैजुलाल गुप्ता, नेकपा माओवादी केन्द्रका मुकेश साह, विद्यार्थी नेता इमरान आलमले कार्यक्रम प्रभावकारी बनाउन सरोकारवाला निकाय र इन्सेकको भूमिका अझै बढाउनुपर्नेमा जोड दिए ।

इन्सेकद्वारा जिल्लामा सञ्चालित कार्यक्रमबारे सहभागीहरुलाई जिल्ला सहजकर्ता भोलानाथ पौडेलले जानकारी गराएका थिए ।

लक्ष्मीसाह सोनार