जनप्रतिनिधि र निगरानी समूहका लागि आयोजित क्षमता विकास तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा लालगढमा जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहको क्षमता विकास तालिम असोज ८ गतेबाट सुरू भएको छ ।

दुई दिनसम्म चल्ने यो तालिममा इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बटेश्वर गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा शिक्षा, स्वास्थ्य र खाद्यान्नको अधिकारमा काम गरिरहेको छ ।

स्थानीय निर्वाचित जनप्रतिनिधिहरू आएपछि मानव अधिकार निगरानी समूह र निर्वाचित जनप्रतिनिधिहरूलाई एक ठाउँमा राखी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताए ।

उक्त तालिममा शिक्षा, स्वास्थ्य र खाद्यान्नको अधिकारहरू, जनमूखी विकास कसरी गरिने, मौलिक हक, आर्थिक, समाजिक र सांस्कृतिक अधिकार, मानव अधिकार आधारभूत अवधारणा र इन्सेकको संस्थागत विकासलगायतका सवालहरू तालिममा केन्द्रित हुने संयोजक पासवानले जनाए ।

नेपालमा २० वर्षपछि जनप्रतिनिधि आएकाले आम जनताको दैनिक प्रशासनिक काम र विकास काम भइरहेको बताए पनि जनतासँग प्रभावकारी समन्वय हुन नसकेको सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर क्षेत्रीले बताए ।

वर्गीय समाज व्यवस्थाका कारण मानिसहरू खान, लाउन र बस्ने समस्याहरूकै सवालमा जिन्दगी भरी दौडधुपमा लागेको उनले बताए । जबसम्म उचनिच तह तप्का रहन्छ समानताको अधिकारको लडिरहनु पर्ने अध्यक्ष क्षेत्रीले बताए ।

मानव अधिकार निगरानी समूहले निगरानी गर्नु भन्दा पनि स्थानीय जननिर्वाचित प्रतिनिधिहरूसँग समन्वयकारी भूमिका निर्वाह गरी शिक्षा, स्वास्थ्य र खाद्यान्नका समस्याहरूको पहिचान गरी जनताको हितमा काम गरिरहेको प्रदेश संयोजक पासवानले बताए ।

विनोदकुमार रविदास