जनचेतना र शिक्षाको कमी मानव अधिकार उल्लङ्घनको कारकः मन्त्री पुन
प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले जनचेतना र शिक्षाको अभावका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना दिनप्रतिदिन बढिरहेको बताएकी छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालयले असार १४ गते पोखरामा आयोजना गरेको 'मानव अधिकार अवस्था' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले सो कुरा बताएकी हुन् ।
उनले हिंसा पीडित महिला र सहाराविहीन बालबालिकाका लागि आश्रयस्थल आफ्नो प्रमुख प्राथमिकता रहेको बताएकी छिन् ।
उनले आफ्नो योजनामा सचेतनात्मक अभियानलाई समेत प्राथमिकता दिने बताइन् । वैदेशिक रोजगारीका कारण बढ्दो पारिवारिक बिखण्डन र बालबालिका प्रभावित भइरहेको बताउँदै मन्त्री पुनले रोजगारमुलक तालिमलाई समेत प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा इन्सेक पोखराका संयोजक शिव खकुरेलले सन् २०१८ जनवरीदेखि जुनसम्म साविकको पश्चिमाञ्चल विकास क्षेत्रको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार यस अवधिमा राज्य र गैरराज्य दुवै पक्षबाट भएका विभिन्न ७ सय १५ ओटा घटनामा ७ सय ७६ जना पीडित भए ।
गैरराज्य पक्षबाट ७ सय ६ र राज्य पक्षबाट ७० जना पीडित भएको इन्सेक पोखरा कार्यालयले अभिलेख संयोजक खकुरेलले बताए । यस अवधिमा प्रदेश ४ मा राज्यपक्षबाट ६३ जना र गैरराज्यपक्षबाट ३ सय ४८ जना र प्रदेश ५ का ६ जिल्लामा राज्य पक्षबाट सात जना र गैरराज्यपक्षबाट ३ सय ५८ जना पीडित भएको प्रतिवेदन संयोजक खकुरेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग, पोखराकी निमित्त निर्देशक नितु गर्तौलाले प्रहरी र न्यायिक निकायमा पुगेका घटना धेरै भएको हुँदा ति घटना पनि सङ्कलन गर्न सुझाव दिइन् । न्याय पाउनबाट वञ्चित भएमा मात्रै मानव अधिकार उल्लङ्घन हुने बताउँदै गर्तौलाले प्रहरीले गिरफ्तार गर्ने बित्तिकै मानव अधिकार उल्लङ्घन नहुने बताइन् ।
वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेले मानव अधिकार वर्षपुस्तकको प्रयोजन देश विदेशमा रहेका मानव अधिकार रक्षकका लागि उपलब्धिमुलक रहेको बताउँदै पुस्तकलाई सत्यतथ्य सूचना दिन सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताए ।
जनआन्दोलन घाइते तथा शहीद परिवार समन्वय समिति कास्कीका अध्यक्ष ढाकाराम पौडेलले गम्भीर मानव अधिकार उल्लङ्घन घटनाका दोषीलाई राज्यले उन्मुक्ति दिएर राज्य आफैँले पीडित नागरिकको अधिकार हनन् गरेको भनाई राखे ।
उच्च बार इकाई पोखराका राजेन्द्रमान श्रेष्ठले मानव अधिकार हनन्का घटना बढिरहेपनि राज्यले निकास निकाल्न नसकेको आरोप लगाए ।
केन्द्रीय बाल कल्याण समितिका श्रोत व्यक्ति बद्रि वाग्लेले बाल सम्वेदनशिलतालाई जोड दिनुपर्ने बताउँदै कुनै पक्षले विद्यालय बन्द गर्ने प्रवृत्तिलाई निरूत्साहित गर्दै बालबालिका शान्ति क्षेत्र अभियानलाई सबैले आत्मसात् गर्नुपर्ने बताए ।
सहाराविहीन बालबालिका सुधार गृहमा बसिरहेको बताउँदै वाग्लेले कमजोर आर्थिक अवस्था भई धरौटी तिर्न नसक्ने नसक्ने बालबालिकालाई राज्यले नै न्यायको वातावरण मिलाउनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्र गुरुङले मानव अधिकारमैत्री भएर प्रहरीले काम गरिरहेको बताउँदै मानव अधिकारको संरक्षण आफ्नो प्रमुख दायित्व भएको बताए ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले दण्डहिनताका कारण समाजमा घटना बढ्दै आएको हुँदा उजुरी लिने प्रक्रिया सहज र कार्यान्वयनको पाटो छिटो छरितो हुनुपर्ने बताए ।
नेपाली काङ्ग्रेस, कास्कीका सभापति कृष्ण केसीले मानव अधिकार उल्लङ्घन हुन नदिनेमा नेपाली काङ्ग्रेस प्रतिबद्ध रहेको बताए ।
अपाङ्गता स्वावलम्बन विकास सङ्घ कास्कीका संस्थापक अध्यक्ष गिरधारी सुवेदीले सडकको संरचना अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्ति स्वतन्त्रतापुर्वक हिँडडुल गर्न पाउने अधिकारबाट वञ्चित भएको बताए ।
सुवेदीले अपाङ्गता भएका विद्यार्थीका लागि विश्वव्यापी मान्यता अनुसारका विद्यालय नेपालमा नरहेको बताए । अस्पतालमा दोभासेको व्यवस्था नहुँदा अपाङ्गता भएका बिरामीलाई औषधिको बारेमा र रोगको बारेमा जानकारी लिन समस्या हुने सुवेदीको भनाई छ ।
इन्सेक पोखरा कार्यालय
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…