घर निरीक्षणमा प्राविधिक पठाउन भूकम्प पीडितहरूको माग
सुनकोशी गाउँपालिकाका भूकम्प पीडितहरूले भूकम्पले क्षति पुर्याएका घरको पुनः निरीक्षणका लागि प्राविधिक पठाउन माग गरेका छन् ।
प्राविधिक टोलीले निरीक्षण गरेर पनि क्षति भएका घर लाभग्राहीको सूचीमा नपरेपछि गुनासो फारम भरेका पीडितहरूले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुनकोशी गाउँपालिकासँगको सहकार्यमा ०७४ असोज २९ गते सुनकोशी गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा आयोजना गरेको भूकम्प पीडितका सवाल सम्बोधनमा स्थानीय तहको भूमिका विषयक सार्वजनिक सुनुवाइमा पीडितहरू गाउँपालिकाले गुनासो भरेका घरको निरीक्षणका लागि प्राविधिक खटाउने व्यवस्था गर्न र पहिलो किस्ता लिएर बनेका घरको दोस्रो किस्ताको रकम चाँडो निकासाको पहल गर्न पनि माग गरेका हुन् ।
भूकम्प पीडित सानु तामाङले आंशिक क्षति भएका घर परिवारका व्यक्तिले गुनासो फारम भरे पनि निरीक्षण नभएको गुनासो गरे । उनले प्राविधिकले घर निर्माणका क्रममा निरीक्षण नगर्दा अनुदान लिएर आवास निर्माण थालेका पीडितहरूले दोस्रो किस्ता नपाउने अवस्था आएको आरोप लगाए ।
प्राविधिककै सल्लाह अनुसार बनाएका घरसमेत प्राविधिक फेरिँदा पीडितले नपाएको अर्का भूकम्प पीडित पञ्चबहादुर तामाङले बताए ।
घर निर्माणका क्रममा भएका समस्या, दोस्रो किस्ता पाउन सिफारिस नभएको र गुनासो सम्बोधन नभएका विषयमा सहभागीहरूले पुनः निर्माण प्राधिकरणका प्राविधिक, गाउँपालिकाका कार्यकारी अधिकृत र वडा अध्यक्षलाई जिज्ञासा राखेका थिए ।
पीडितरूको गुनासा तथा जिज्ञासाको जबाफ प्राविधिक जितेन्द्र शाह, सुनकोसी गाउँ पालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्द तामाङ र गाउँपालिकाका कार्यकारी अधिकृत मदन बजगाईले दिएका थिए ।
जबाफ दिने क्रममा बजगाईले गाउँपालिकाले पीडितहरूका सवालहरूलाई पुनः निर्माण प्राधिकरणसम्म पुर्याएर सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । त्यस्तै वडा अध्यक्ष तामाङले गाउँपालिकाले गाउँपालिकाभर एक परिवार एक सुरक्षित आवास भन्ने नीति पारित गरेकाले अब सबै पीडितहरूका सवाल सम्बोधन गर्न प्रयास गरिने बताए ।
गाउँपालिकाले भूकम्प पीडितहरूलाई ध्यानमा राखेर अघिल्ला आर्थिक वर्षको मालपोत करसमेत मिनाहा गर्ने निर्णय गरेको कार्यकारी अधिकृत बजगाईले जानकारी गराएका थिए ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…
बाल विवाहको उमेर नघटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
बाल विवाहको उमेर हद नघटाउन माग गर्दै सर्लाही जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मानव अधिकारकर्मी र महिला मानव अधिकारकर्मी, नागरिक समाज तथा मानव अधिकारको क्षेत्रमा कार्यरत इन्सेक लगायत विभिन्न संघ…