ग्रामीण भेगमा लुकेका घटना उजार गर्नुपर्नेमा सांसद ठगुन्नाको सुझाव

दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाका ग्रामीण भेगमा अहिले पनि लुकेर रहेका घटनाहरूलाई समेत मानव अधिकार वर्षपुस्तकमा समेट्नुपर्ने सुझाव दिएका छन् ।

इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ को प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठीमा बोल्दै सांसद ठगुन्नाले यस्तो सुझाव दिएका हुन् ।

मानव अधिकारको क्षेत्र व्यापक रहेको भन्दै सांसद ठगुन्नाले ग्रामीण भेगमा रहेका कुरुती, विकृतीहरूलाई समेत समेट्नु पर्ने बताए । 'इन्सेकले वर्षौँदेखि मानव अधिकारको क्षेत्रमा चलाएको कलम र अभिलेखिकरणले अहिले पनि मानव अधिकारको अवस्था देख्न सकिन्छ ।'-उनले भने-'द्वन्द्वकालीन समयमा होस् या त्यसपछिका घटनाहरूको अभिलेखिकरणमा इन्सेकको भूमिका महत्वपूर्ण छ ।'

सांसद ठगुन्नाले जिल्लामा देखिएको अहिलेको मानव अधिकार अवस्था त्यति सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरे । 'इन्सेकले प्रस्तुत गरेको तथ्याङ्क हेर्ने हो भने सन्तोषजनक हुने ठाउँ भएन ।'-उनले भने-'यसलाई न्यूनीकरण गर्न सरोकारवालाले ध्यान दिनुपर्छ ।'

उनले दार्चुलामा देखिएको खाद्यान्नको समस्या समाधान गर्न पहल गर्ने बताए । जनताले गुणस्तरीय र सर्वसुलभ खाद्यान्न नपाउनुको कारणबारे आफूले सम्बन्धित विभाग र संस्थानहरूमा छलफल गर्ने बताए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्मका घटनाहरू सार्वजनिक गरेका थिए भने जिल्लाको खाद्य अधिकारको अवस्थाबारे समेत प्रतिवेदनमा समेटेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार एक वर्षको अवधिमा महिला अधिकारका ४४ ओटा, नागरिक तथा राजनीतिक अधिकारका सात ओटा र बालअधिकारसम्बन्धी तीन ओटा घटना अभिलेखीकरण गरिएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हर्कबहादुर सिंहले जिल्लाको मानव अधिकारको अवस्थाबारे इन्सेकले यर्थाथता बाहिर ल्याएको बताए । उनले भने-'खाद्य अधिकारको अवस्थाले गम्भीर बनाएको छ । साँच्चै नागरिकले सर्वसुलभ रूपमा खाद्यान्न नपाएको हो भने गम्भीर विषय हो ।' उनले खाद्यान्नको चामल ढुवानीबारे चाँडै ठेकेदार र सरोकारवालाहरूबिच छलफल गर्ने बताए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खगेन्द्रबहादुर सिंह, दुर्गादल गुल्मका गुल्मपति अच्युत घिमिरे, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख बोधराज ओझा, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका निमित्त प्रमुख जनक उपाध्याय, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य कल्यानसिंह कुँवर, एकीकृत नेकपा माओवादी केन्द्रका खडकसिंह धामी, जिल्ला अस्पताल दार्चुलाका डा. सुरेन्द्रप्रसाद भट्टलगायतको सहभागिता रहेको थियो ।

अनलाइन डेस्क