ग्रामीण क्षेत्रमा मानव अधिकार शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड

ग्रामीण क्षेत्रमा मानव अधिकार शिक्षा सञ्चालन गर्नुपर्ने जिल्ला अदालत डोल्पाका न्यायाधीश सनत लवटले डोल्पामा आयोजित एक कार्यक्रममा जोड दिएका छन् ।

इन्सेक डोल्पाद्वारा मङ्सिर २५ गते दुनैमा आयोजित वार्षिक पूर्व समीक्षा कार्यक्रममा न्यायाधीश लवटले उक्त कुरामा जोड दिएका हुन ।

भौगोलिक विकटता र अज्ञानताका साथै फितलो प्रशासनका कारण डोल्पामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बृद्धि भइरहेको सहभागीहरूले बताए ।

इन्सेकले ०७२ पुस १७ गतेदेखि ०७३ मङ्सिर २५ गतेसम्म डोल्पामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको स्थानीय सरोकारवालासँगको वार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले उक्त कुरा बताएका हुन् ।

इन्सेक प्रतिनिधि विष्णुप्रसाद देवकोटाले यस वर्षसम्बन्ध विच्छेदका ६, घरेलु हिंसासम्बन्धी दुई, धम्की र कुटपिटका नौ, बलात्कार प्रयासका तीन, जातीय विभेदका तीन, बोक्सी आरोपका एक र बाल अधिकार उल्लङ्घनका दुई गरी २६ ओटा घटना सार्वजनिक गरेका थिए ।

कार्यक्रममा अन्तरपाटी महिला सञ्जालकी उपाध्यक्ष काली चलाउने, नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिष्णुलाल बुढालगायतका सहभागीहरूले मानव अधिकार संरक्षणमा राज्यको प्रमुख भूमिका रहेको बताए ।

विष्णु देवकोटा