गुनासो अझै सुनुवाइ नभएको रातमाटेबासीको गुनासो

बेलकोटगढी नपा-७ रातमाटेका नागरिकहरुले भूकम्प पीडितको गुनासो अझै सुनुवाइ नभएको गुनासो गरेका छन् ।

सरकारले निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन समयसीमा तोकेपछि गुनासोको अझै सुनुवाइ नहुँदा लाभग्राहीको सूचीमा नपरेकाहरूमा सरकारको राहत रकम नआउने पो हो कि भन्ने लाग्न थालेको बताएका छन् ।

photo2018531nuwakot (2)

जेठ १६ गते इन्सेकको आयोजना र बेलकोटगढी नपा-७ को कार्यालयले महादेवफाँटमा गरेको कार्यक्रममा सहभागीहरूले गुनासोको तत्काल सुनुवाइ गर्न माग गरेका हुन् ।

घर भत्केर पनि लाभग्राहीको सूचीमा छुटेको सीता सिग्देलले बताइन् । 'गुनासो भरेको पनि एक वर्षन्दा बढी भयो । पछि इञ्जिनियर आएर फेरी भत्केको घरको फोटो खिचेर लगेका थिए ।'-उनले भनिन्-'तर अझै हामी लाभग्राहीको सूचीमा परेनौँ । किन ?'

photo2018531nuwakot (3)

श्रीकृष्ण नेपालले राजधानी काठमाडौँमा घर भएकाहरूले नाम निस्केको तर यहाँमात्र घर भएको र त्यो पनि भत्केकाहरूको भने नाम छुटेकाले त्यसलाई सम्बोधन गर्न माग गरे ।

कार्यक्रममा वडा अध्यक्ष हेमनिधी नेपालले साविकको रातमाटे गाविस हाल बेलकोटगढी नपा-७ मा १ सय ८३ जनाको गुनासोको सम्बोधन हुन नसकेको जानकारी दिए । 'साँच्चै पीडित भएका छन् । उनीहरूको छुटेको छ । गुनासो भरेका छन् । तर, सम्बोधन भएको छैन ।'-उनले भने-'हामीले वडाबाट गर्नु पर्ने काम गरेका छौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्नुपर्ने काम नगरेको कारण हामीलाई तनाव बढाएको छ ।'

photo2018531nuwakot (1)

९ सय ९५ जनाको पहिलो चरणमा नाम निस्किएको यस वडामा पछि ८३ जनाको गुनासो सम्बोधन भएर नाम निस्किएको वडाअध्यक्ष नेपालले जानकारी दिए । उनले ८ सय जनाले दोस्रो किस्ता पनि पाएको बताए ।

पाँच जना सुकुमवासी लाभग्राहीको नाम निस्किए पनि जग्गाको व्यवस्था हुन नसकेका कारण अनुदान रोकिएको कार्यक्रममा जानकारी दिए । कार्यक्रममा सहभागीहरूले उठाएको समस्याको पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर विजयराज दाहालले जबाफ दिएका थिए ।

नवदीप श्रेष्ठ