गाउँपालिकाको शिक्षा, स्वास्थ्य र खाद्य नीतिबारे सम्वाद कार्यक्रम सम्पन्न

इन्सेक तनहुँको आयोजनामा म्याग्दे गाउँपालिकाको शिक्षा, स्वास्थ्य र खाद्य नीतिबारे सम्वाद कार्यक्रम चैत २७ गते म्याग्दे गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यसम्बन्धी नीति बनाउने क्रममा समावेश गर्नु पर्ने विषयहरूबारे गाउँपालिकाको ध्यानाकर्षण गराउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।

Photo20180410Tanahu

सो कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष माया रानाले सबैको सुझाव ग्रहण गरेर मात्र गाउँपालिकाले नीति बनाउने बताइन् । गैरसरकारी संस्थाहरूले पनि यस्ता विषयमा सुझाव दिनु पर्ने भन्दै उनले सबैको अपनत्व हुने गरी मात्र ऐन, नियम र नियमावलीहरू बनाउने बताइन् ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले सबैभन्दा पहिले गाउँपालिकाको बजेट नीति बन्ने र त्यसैको आधारमा अन्य नीतिहरू बन्ने बताए । आगामी जेठ मसान्तभित्र शिक्षा, स्वास्थ्य र खाद्यसम्बन्धी नीतिहरू पारित भइसक्ने भन्दे उनले गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यलाई विशेष प्राथमिकतामा राखेको बताए ।

उनले शिक्षा, स्वास्थ्य र खाद्य नागरिकको मौलिक हक भएको हुँदा सोही मौलिक हक सम्बोधन हुने गरी नीति बन्ने जानकारी दिए ।

शिक्षा नीतिसम्बन्धी जानकारी दिँदै गाउँपालिका शिक्षा प्रमुख विजयराज बडुले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन सबै विद्यालयलाई निर्देशन दिइसकिएको बताए । उनले गाउँपालिकाका सबै विद्यालयमा 'जङ्कफुड' मुक्त बनाउने कार्यक्रम सुरू भइसकेको हुँदा अव चाँडै नै सबै विद्यालयमा जङ्कफुड मुक्त हुने जानकारी दिए ।

केही दिनअघि शिक्षा विभागले नयाँ शिक्षकहरूको नियुक्ति, सरूवा र पदस्थापना नगर्न पत्राचार गरेपछि नयाँ शिक्षक नियुक्ति हुन नसकेको र त्यसले पढाइमा समस्या पार्न सक्ने बडुले बताए ।

प्रकाशचन्द्र भट्टराई