गाउँपालिका स्तरीय मानव अधिकार प्रवर्द्धन कार्यक्रम सम्पन्न

  ०८१ जेठ १ गते

माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा मानव अधिकार प्रवर्द्धन  सम्बन्धी दुई दिनको तालिम वैशाख २८ र २९ गते सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिका स्तरीय महिला सञ्जाल, दलित सञ्जाल, जेष्ठ नागरिक सञ्जाल, अपाङ्गता सञ्जाल, बाल सञ्जाल, मेलमिलापकर्ता, मानव अधिकार समूहको अध्यक्ष र अन्य सदस्यहरुको सहभागीता रहेको थियो ।

गाउँपालिकका अध्यक्ष मिनबहादुर गुरुङ्गले पालिकामा धेरै मानव अधिकार उल्लङ्घनका घटनाहरु घटेकोले सबै सचेत रहनु पर्छ भनेर कार्यक्रमको आयोजना गरेको जानकारी गराउनु भयो ।

गाउँपालिकाको उपाध्यक्ष सिता अधिकारीले मानव अधिकार प्रवर्द्धन  कार्यक्रममा गाउँपालिकाले सबै सञ्जालहरुलाई समेटेर कार्यक्रम गरेकोले उपलब्धिमूलक रहेको जानकारी गराउनु भयो । उहाँले मानव अधिकार प्रवर्द्धन  कार्यक्रम गरेको गाउँपालिकाहरु मध्ये नै पहिलो कार्यक्रम रहेको समेत उल्लेख गर्नुभयो । उहाँले मानव अधिकार प्रवर्द्धन  कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने बारेमा प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा अपाङ्ग सञ्जालकी सदस्य सारदा आचार्यले सरकारले प्रदान गर्ने गरेको सामाजिक सुरक्षा भत्ता असक्त, अपाङ्ग तथा जेष्ठ नागरिकले प्रयोग गर्न नपाएको र यसको लागि स्थानीय सरकारले पहल गर्नु पर्ने भनाइ राख्नु भएको थियो ।

महिला सञ्जालकी अध्यक्ष कल्पना अधिकारीले यस कार्यक्रमबाट आफूले बालबालिका तथा महिलाहरु कहाँ कहाँ हिंसामा पर्न सक्छन्, अधिकार र कर्तव्यको महत्वको बारेमा अझै स्पष्ट हुने अवसर प्राप्त गरेको बताउनु भयो ।

बाल अधिकार सञ्जालको उपाध्यक्ष रोजनी गौतमले तालिमबाट बालबालिकाहरु कसरी हिंसामा पर्छन् र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा ज्ञान भएको, नेतृत्वको गुणहरुको बारेमा पनि जानकारी भएको, बालबालिकामाथिको हिंसा र कानुनको बारेमा समेत जानकार भएको बताउनुभयो ।

दलित सञ्जालको अध्यक्ष काजीमान बोहोराले छुवाछूतको बारेमा बोलेर मात्र नभएर अभियानको रुपमा लैजानु पर्नेमा जोड दिनु भयो । उहाँले सिकेका कुराहरुलाई व्यवहारमा पनि ल्याउनको लागि आफैँबाट सुरु गर्नुपर्ने बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकारको परिभाषा, संरक्षण र स्थानीय सरकारको भूमिका, बाल अधिकार, सुशासन र मानव अधिकार, जनवकालत र मानव अधिकार विकास पद्धतिका बारेमा प्रशिक्षण दिनु भएको थियो । । साथै उहाँले यस तालिमबाट सहभागीहरुमा ज्ञान, सिप र धारणामा परिवर्तन ल्याउने र अझ सक्षम बनाउने बताउनुभयो । साथै उहाँले मानव अधिकारको कुरा गर्दा आफ्नो कर्तव्यलाई समेत भुल्न नहुने बारेमा जानकारी गराउनु भयो ।

त्यसै गरि कार्यक्रम अधिकृत सबनम शर्माले महिला अधिकार र सिड, नेतृत्व र नेतृत्वका गुणहरु, महिला हिंसा र कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण दिनु भएको थियो । साथै कार्यक्रममा कास्की जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले बाल यौन दुर्व्यवहार र हिंसाको विषयमा सहजीकरण गर्नुभएको थियो ।

photo1 081-2-1 kaski

photo2 0810-2-1 kaski

photo3 081-2-1

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा ।