गणतन्त्र दिवसको अवसरमा इन्सेकद्वारा शहीदको सम्झनामा दीप प्रज्वलन

गणतन्त्र दिवसको अवसरमा सशस्त्र द्वन्द्वमा राज्य र तत्कालीन विद्रोही पक्षबाट मारिएका शहीदहरूको सम्झनामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले जिल्लामा जेठ १५ गते दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

Photo 20230529 Taplejung (1)

इन्सेकले  द्वन्द्वमा मारिएकाहरुको तस्विर सङ्कलन गरेर राखेको कार्यालयमा पुगेर अधिकारकर्मी तथा पत्रकारको उपस्थितिमा दीप प्रज्वलन सम्पन्न गरिएको हो ।

२ सय ४० वर्ष लामो राजतन्त्रको विधिवत अन्त्य गर्नका लागि ०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्मको अवधिमा राज्य र तत्कालीन विद्रोही पक्षबिचको द्वन्द्वमा शहीद भएकाको सम्झना र योगदानको विषयमा चर्चा समेत गरिएको छ ।

इन्सेकका पूर्व जिल्ला प्रतिनिधि चन्द्रप्रकाश भट्टराईले भने, ‘द्वन्द्वमा मानवीय र धनसम्पत्ति धेरै क्षति भयो । अब कहिल्यै यस्तो नहोस भनेर भावी सन्ततीलाई विगत सुनाएर परिवर्तन ल्याउन इन्सेकको योगदान उल्लिखनीय छ ।’

नेपाल पत्रकार महासङ्घ शाखा अध्यक्ष आनन्द गौतमले व्यवस्था फेरिएपनि अवस्था नफेरिएको बताउनु भयो । अध्यक्ष गौतमले प्रश्न गर्दै भन्नुभयो, ‘ऊ बेलाका पीडितले न्याय पाए कि पाएनन् ? परिवर्तनका लागि लडेकाहरूले शहादत प्राप्त गरे ? तर देशले के पायो ?’ राजनीतिक दलले भुल्न खोजेपनि इन्सेकले कम्तीमा सरोकारवालासँग छलफल गरेर झक्झ्क्याउने काम गरेको भन्दै सबैले धन्यवाद ज्ञापन गर्नु भयो ।

इन्सेक प्रतिनिधिले द्वन्द्वमा इन्सेकले खेलेको भूमिका र न्यायका लागि अहिले पनि वकालत गरिरहेको बताउनु भयो । जननिर्वाचित पहिलो संविधानसभाले ०६५ साल जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरेको थियो ।

Photo 20230529 Taplejung (2)

Photo 20230529 Taplejung (3)

देवराज गुरुङ