खोटाङमा पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा खोटाङ जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व मङ्सिर २७ गते समीक्षा गरिएको छ ।

photo20161212khotang

कार्याक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार कार्कीले विगतका वर्षहरूमा पनि घटना धेरै हुने गरेता पनि चेतनाको पहुँच नभकाले पीडित न्यायिक निकायसम्म पुग्न नसकी घटना लुकेर रहने गरेको बताए । उनले वर्तमान समयमा ग्रामीण स्तरमा पनि चेतनास्तर उच्च भएकाले घटना प्रकाशमा आउनु राम्रो पक्ष रहेको बताए ।

जिल्लामा राष्ट्रिय मानव अधिकार आयोगको उपस्थिति रहनुका साथै महिला सञ्जाल र मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाहरूको सक्रियताले पीडितहरूको निकायसम्म पहुँच बढेकोले यस वर्ष तथ्याङ्क बढी देखिएको विभिन्न सरोकारवालाहरूले औँल्याए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सुनिता मगरले जिल्लामा मानव अधिकार हनन् र ज्यादतीका १ सय ६ ओटा घटनाहरू सार्वजनिक गरिन् । गत वर्ष ४४ ओटा घटना अभिलेख गरिएको खोटाङमा यस वर्षनिकै बढेको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय