खानेपानी र सेवाग्राहीबिच छलफल सम्पन्न

  ०७४ जेठ ३० गते

इन्सेकले सञ्चालन गरेको जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम इलपी अन्तर्गत जेठ ३० गते विराटनगरमा स्वच्छ खानेपानीको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र मानव अधिकार निगरानी समूहको आयोजनामा नेपाल खानेपानी संस्थान मोरङसग छलफल गरिएको हो ।

छलफलमा सहभागीहरूले विराटनगरमा खानेपानी वितरण राम्रो नभएको, पानीमा लेदो आउने गरेको, साविक बुधनगर गाविसतिर पनि ट्युवेलमा आर्सेनिक पाइने गरेको गुनासो गरेका थिए ।

सहभागीहरूको जिज्ञासामा नेपाल खानेपानी सस्थान मोरङका प्रमुख सन्तोष रौनियारले संस्थानको क्षेत्रभित्र पर्ने स्थानहरूमा खानेपानीको सहज पहुँच बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बजेट अभावका कारण सोचेजति काम गर्न नसकेपनि पानीको अभाव हुन नदिएको जानकारी गराए ।

विराटनगरमा भइरहेको निर्माणकार्यका कारण कहिलेकाही पानी नआउने, लेदो आउने समस्या देखिने गरेको भन्दै उनले कही त्यस्तो भए तुरून्त सुचना गर्न आग्रह गर्दै कार्यालयले त्यसलाई संवोधन गर्ने बताए ।

सो अवसरमा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले स्वच्छ खानेपानी उपभोग गर्नपाउनु नागरिकको अधिकार भएको भन्दै अहिले विराटनगरमा नियमति रूपमा पानी नआउने गरेकोले नियमित गराउन आग्रह गरे ।

इन्दिरा भट्टराई