खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

  ०७८ असोज १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजना एवम् मानव अधिकार समूह शिवालय गाउँपालिकाको संयोजनमा असोज १५ गते शिवालय गाउँपालिकामा खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मान बहादुर पुनले खाद्य अधिकारका विषयमा उपभोक्ता चनाखो हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले उपभोक्ताले सामग्री खरिद गर्दा चनाखो हुनु पर्ने र ठगिनबाट जोगिनुपर्ने साथै त्यस्तो खालको कुनै गतिविधि भएमा सम्बन्धित निकायमा जानकारी गराउनु पर्ने सुझाव दिनु भयो ।

कार्यक्रममा शिवालय गाउँपालिका पशुपंक्षि शाखाका अधिकृत दल बहादुर बाँठाले उपभोक्ताले सचेत भएर आफ्नो बानी व्यवहारलाई सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो–“हामीले जुनसुकै वस्तु खरिद गर्दा बिल माग्दैनौँ, बिल नहुँदा केही समस्या भयो भन्दा उजुरी गर्ने आधार हुँदैन ।”

त्यसैले हरेक सामान किन्दा बिल अनिवार्य माग्ने बानी बसाल्न अधिकृत बाँठाले उपभोक्तालाई आग्रह गर्नुभयो । उपभोक्तालाई प्रतिनिधित्व गराउँदै हामीले बजार अनुगमन पटक पटक गरेको भएपनि प्रभावकारी हुन नसकेको बताउँदै त्यसका लागि आम उपभोक्ता सचेत बन्नुपर्नेमा जोड दिनु भयो ।

बजार अनुगमनको क्रममा मिसावट गर्ने, मूल्य बृद्धि गर्ने, र अखाद्य वस्तु बिक्री गरिरहेको पाइए पनि प्रशासनले तत्काल कारबाही गर्न नसक्दा अनुगमनप्रति जनताको विश्वास हराउँदै गएको पनि बाँठाले आरोप लगाउनु भयो ।

कार्यक्रममा शिवालय गाउँपालिका कृषि शाखाका प्रमुख टेकेन्द्र पुनले गाउँपालिकाबाट खाद्यको अधिकारका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको र कृषकलाई प्रोत्साहित गर्ने खालको योजनाहरू सञ्चालित भइरहेको जानकारी गराउनुभयो ।

उहाँले किसानले समयमै रासायनिक मल नपाउने गरेको गुनासोलाई स्वीकार्दै राज्यले रासायनिक मलको विषयमा ठोस नीति निर्माण नगरेसम्म हरेक बर्ष समस्या सिर्जना भइरहने बताउनुभयो ।

तर गाउँपालिकाबाट सिफारिस भएका मल बिक्रेता सहकारीबाट प्राप्त मलको सहज वितरणको लागि निरन्तर निगरानी र खबरदारी गर्ने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमका सहभागीहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा मिति नाघेका खाद्यसामग्रीहरू बिक्रि वितरण हुने गरेको, महङ्गी बढेको, खाद्य मिसावट हुने गरेको लगायतका समस्या हुने हुँदा त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

त्यस्तै सहभागीहरूले गाउँपालिकाबाट दिइने सेवा सुविधा तथा अनुदानका विषयामा कृषकहरूले जानकारी नपाउने समस्या समेत रहेको बताए ।

कार्यक्रममा मानव अधिकार समूहका सचिब नैन बहादुर बादीले शिवालय गाउँपालिका भित्रकै केही वडाहरूमा अझै पनि खाद्यको समस्या विद्यमान रहेको बताउनुभयो ।

पछिल्लो दुई वर्षयता कोभिड–१९ को कारणले दैनिक ज्यालादारी गर्ने मजदुरलाई निकै समस्या भएको सचिव बादीले गुनासो गर्नु भयो ।

Photo 2021-10-03 Jajarkot (2) Photo 2021-10-03 Jajarkot

दिनेश कुमार श्रेष्ठ