खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर: मेयर पञ्जियार

खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पञ्जियारले बताएका छन् । मानव अधिकारसँग नागरिकको खाद्य अधिकारको पनि ख्याल राख्नु पर्ने भएकाले खाद्य अधिकारको संरक्षणमा लागि परेको उनले बताए ।

आम नागरिकको आधारभूत आवश्यकता अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकार रहेको भन्दै यसलाई मानव अधिकारसँगै खाद्य अधिकारको प्रत्याभूति दिलाउनका लागि आफू प्रतिबद्ध रहेको उनले बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुर कार्यालयद्वारा सञ्चालित स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउनका लागि पहल कार्यक्रम अन्तर्गत सरोकारवाला र सेवाग्राहीसँग परिचयात्मक बैठक तथा मानव अधिकार निगरानी समूह गठन कार्यक्रममा नगरपालिकाका प्रमुख पञ्जियारले नगरपालिका अन्तर्गतका सबै सेवा प्रदायक निकायहरूलाई राज्यले प्रदान गरेको सेवा सुविधा सही र सहज रूपमा प्रदान गर्न आह्वान गरेका छन् ।

इन्सेकको पहलमा यस नगरका विभिन्न वडामा देखिएका समस्याहरू नगरपालिकामा ल्याए समाधान गर्नका लागि आफ्नोतर्पmबाट कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा शिक्षा शाखाका उपसचिव महेन्द्र महतोले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबै जिम्मेवार हुनुपर्ने बताए । शिक्षामा लगानी गरेअनुसार उपलब्धि हासिल हुन नसकेकोप्रति उनले दुःख व्यक्त गर्दै यसको जिम्मेवार अभिभावक, शिक्षक र वडाध्यक्ष स्वयम् भएको बताए । स्थानीय तहले शिक्षाको अधिकार पाइसकेकाले निगरानी र प्रभावकारी सेवा प्रवाहको अवस्थाबारे नियमित रूपमा फलोअप गर्न उनले आग्रह गरे ।

कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव इन्द्रदेव यादवले नगरपाालिकामा शिक्षा, स्वास्थ्य र आद्य अधिकारको अवस्था सोचे अनुसारको नरहेको बताए ।

उपसचिव यादवले लगानी अनुसार प्रतिफल नआउँदा समस्या हुने गरेको बताए । नगर कार्यपालिकाले अहिले विभिन्न कानुनहरू निर्माण गरिरहेको सन्दर्भमा अगामी दिनमा खाद्य अधिकारलाई पनि मध्यनजर राखेर कानुन निर्माण गरी आम नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउने उनको भनाई छ ।  यसका लागि सबैको सहयोग र साथ आवश्यक रहेको उनले बताए ।

यसैबिच कार्यक्रममा शोभा भण्डारीको संयोकत्वमा १२ सदस्यीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । समितिको सदस्यहरूमा क्रमशः श्यामबाबु यादव, अरुणकुमार महतो, विरेन्द्र महतो, पवनदेवी दास, प्रमिलादेवी साह, शान्तिदेवी महतो, प्रभा महतो, जुगे साह, रामकुमार शर्मा, अहमद शर्मा र कमलेश यादव सर्वसहम्मत चयन भएका छन् । समितिले नगरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा समस्याहरू पहिचान गरी प्राथमिकताको आधारमा काम गर्ने जनाइएको छ ।

कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले नगरमा इन्सेकले मानव अधिकारसँगै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको समस्यामा काम गर्ने बताए । संयोजक पासवानले गुणस्तरीय शिक्षाका लागि आवश्यक पहल र पैरवीको काम इन्सेकले निरन्तर रूपमा गर्ने बताए । नवगठित मानव अधिकार निगरानी समूहले समस्या पहिचान गरी प्राथमिकताको आधारमा समस्या समाधानमा पहल गर्ने उनले बताए ।

photo20190113dhanusha (2)

photo20190113dhanusha (3)

photo20190113dhanusha (4)

photo20190113dhanusha (5)

इन्सेक प्रदेश २ कार्यालय, जनकपुर