खाद्य अधिकारको प्रत्याभूति दिलाउन प्रतिबद्धः वडा अध्यक्ष रौनियार

खाद्य अधिकारको प्रत्याभूति दिलाउनका लागि आफ्नो वडा प्रतिबद्ध रहेको कलैया उपमहानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष पुनदेव रौनियारले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ जनकपुर कार्यालयद्वारा असोज २२ र २३ गते आयोजित स्थानीय जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन सत्रमा अध्यक्ष रौनियारले मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्दै नागरिकको खाद्य अधिकारलाई समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

खाद्य अधिकार नागरिकको नैसर्गिक अधिकार रहेको भन्दै यसका लागि स्थानीय तहबाट आवाज उठाए अगामी दिनमा राज्यले खाद्य सुरक्षामा चासो दिने वडा अध्यक्ष रौनियारले बताए ।

नागरिकले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई अहिले गम्भीर रूपमा नलिइरहेको सन्र्दभमा इन्सेकले मानव अधिकार निगरानी समूहमार्फत खाद्य अधिकारको सवालमा काम गर्दै आइरहेको प्रति इन्सेकलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले भने–‘धेरै गैरसरकारी संस्थाहरू आउँछन् तर इन्सेकले मानव अधिकारसँगै खाद्य अधिकारको सवालमा काम गर्दै आएकाले उदाहरणीय भएको छ ।’

वडा अध्यक्ष रौनियारले यस गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा देखिएको समस्याहरूलाई निराकरण गर्नका लागि मानव अधिकार निगरानी समूहको भूमिका महत्वपूर्ण रहने बताए ।

जनप्रतिनिधि नआएको समयमा मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा गरेको विभिन्न क्रियाकलापकाले पारेको प्रभावका कारण सो क्षेत्रमा सुधार आएको उनको भनाई छ ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले नागरिकको आधारभूत अधिकारलाई सरकाले परिपूर्ति गर्नु पर्ने उल्लेख गर्दै स्थानीय तह नागरिकको नजिकको सरकार भएको हुँदा स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको आवश्यकतालाई मध्यनजर गरी कार्य गर्नुपर्ने बताए ।

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि मानव अधिकार निगरानी समूह र स्थानीय जनप्रतिनिधिको समन्वयकारी भूमिका आवश्यक रहेको उनले बताए ।

तालिममा कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपपमहानगरपालिकामा गठित मानव अधिकार निगरानी समूहका सदस्यहरू र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

तालिममा इन्सेक अभियान, मानव अधिकारको अवधारणा, विकास, विकासको सैद्धान्तिक अवधारणा, स्थानीय स्तरमा देखिएका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका समस्या, अवस्था विश्लेषण, नेपालको संविधान र मौलिक हक, आर्थिक, सामाजिक आर्थिक तथा सांस्कृतिक अधिकार र नागरिकको पहुँचको विषयमा सहजीकरण गरिएको इन्सेक प्रदेश २ कार्यालयका कार्यक्रम फोकल पर्सन जागेश्वर यादवले बताए ।
दुई दिने अभिमूखीकरण तालिममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन जागेश्वर यादव, जिल्ला समन्वय समिति बाराका निमित्त स्थानीय विकास समन्वय अधिकारी अप्सरा खत्रीले सहजिकरण गरेका थिए ।

photo20181010bara (2)

photo20181010bara (1)

भोलानाथ पौडेल