खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया

  ०७८ मङ्सिर २ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयको सहयोगमा बुद्वशान्ति गाउँपालिकामा खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम मङ्सिर २ गते सम्पन्न भएको छ ।

कार्यक्रममा होक्से कृषि सहकारीका अध्यक्ष मोहन तिम्सिनाले किसान दोधारमा रहेको बताउनु भयो । उहाँले आफू पनि कृषिसँग सम्बन्धित भएकोले धान काटेपछि मकै, गहुँ लगाए परजीवीको समस्या हुने भएकाले धैरे किसान अन्न उत्पादन छोडेर सुपारी खेतीमा लागेको बताउनु भयो । उहाँले सुपारीको बजार भारतमुखी भएको बताउँदै भोलि भारतले सुपारीमा प्रतिन्ध लगाए त्यसपछिको अवस्था के हुने भन्नेमा सोच्न आवश्यक भएको बताउनु भयो ।

किसान नर्बदा चापाँगाई बास्कोटाले बुद्धशान्ति गाउँपालिका–३ मा हात्तीले अन्नबालीमा क्षति गरिदिने भएकाले त्यसको समाधानका लागि गाउँपालिका जुट्नुपर्ने बताउनु भयो । उहाँले विगतका वर्षमा हात्तीले क्षति पुर्‍याएको क्षतिमा स्थानीय तहबाट क्षतिपूर्ति वापत केही रकम पाए पनि यसपटक किन कृषकलाई क्षतिपूर्ति प्रदान गरिएन भन्ने प्रश्न राख्नु भयो ।

किसान धन्यप्रसाद खतिवडाले किसानका समस्या र आवश्यकता बुझ्नका लागि कृषि शाखासँगै जनप्रतिनिधिहरू किसान समक्ष पुग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा कृषि सेवा शाखाका प्रमुख अर्जुन पौडेलले बुद्धशान्ति गाउँपालिका कृषिमा नै आधारित स्थानीय तह भएकाले कृषकको उन्नति भए मात्र सबैको उन्नति हुने बताउनु भयो । प्रमुख पौडेलले कृषकको पहुँच वडा हुँदै स्थानीय तहसम्म राख्नका लागि प्रत्येक वडामा मूल कृषक समूह गठन भएको बताउनु भयो ।

प्रमुख पौडेलले बुद्धशान्तिमा कृषिको प्रगति सन्तोषजनक भएकाले कृषकहरूले माटो परीक्षणको लागि कन्काई सुरुङ्गासम्म धाएर जानुपर्ने बाध्यता हटेको बताउनु भयो । उहाँले कृषि शाखामा ल्याब जडान गरिएको र केही समय पश्चात सुचारू गरिने बताउनु भयो । ल्याब सञ्चालनमा आएपछि १४ तत्वको परीक्षण गर्न सकिने बताउनु भयो ।

सुरुङ्गामा माटोको परीक्षण गर्दा २ हजार २ सय रुपियाँ तिर्नुपर्ने अवस्था रहेको वुद्धशान्तिमै ल्याब सञ्चालनमा आएपछि किसानलाई सहज हुने कृषि शाखा प्रमुख पौडेलले बताउनु भयो ।

पशु सेवा शाखाका प्रमुख कैलाश सिंहले खाद्यसँग सम्बन्धित दूध र मासुमा बुद्धशान्ति आत्मनिर्भर भइसकेको बताउनु भयो । उहाँले पशुपालक कृषकहरूको हितका लागि प्याकेट कार्यक्रमहरू सञ्चालन गरिएको बताउनु भयो ।

प्रमुख सिंहले शाखाले प्रदान गर्दै आएको सेवाको बारेमा जानकारी दिँदै १० हजार ७ सय ५६ मा प्राथमिक उपचार सेवा प्रदान गरिएको बताउनु भयो । त्यसमध्ये १ हजार २ सय ९७ मा माइन सर्जिकल सेवा दिइएको बताउनु भयो ।

कृषकहरूका मागका आधारमा आर्थिक वर्ष २०७८-०७९ का लागि बाछी मात्र उत्पादनका लागि गाईमा सेक्सिमेनको व्यवस्था, ५० प्रतिशत अनुदानमा बंगुरमा एआइको सुरुआत, कुखुरापालकहरूका लागि रानीखेत, गम्बारो, फलफक्स निःशुल्क भ्याक्सिन उपलब्ध गराइने कृषि शाखा प्रमुख सिंहले बताउनु भयो ।

मानवअधिकार समूह बुद्धशान्तिकी अध्यक्ष देवकुमारी शेर्माले किसानले उठाएका समस्यामा गाउँपालिकाले सम्बोधन गर्नु पर्नेमा जोड दिनु भएको छ ।

Photo 20211118 Jhapa (1)

Photo 20211118 Jhapa (2)

Photo 20211118 Jhapa (3)

नरेश खाती