खाँडादेवीमा शिक्षा अधिकारको विषयमा अन्तरक्रिया

  ०७७ माघ १६ गते

इन्सेकको आयोजनामा खाँडादेवी गाउँपालिकामा शिक्षा अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ १५ गते सम्पन्न भएको छ ।

अभिभावक, शिक्षक, विद्यार्थी तथा गाउँपालिको शिक्षा शाखाको प्रतिनिधि समेतको संलग्नतामा भएको अन्तरक्रिया कार्यक्रममा शिक्षा शाखाका प्रमुख कृष्ण घिमिरेले गाउँपालिकाको शिक्षा शाखा मार्फत प्रवाह भएको सेवाको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले शिक्षा शाखाले छात्रावृत्ति, खाजा खर्च तथा विद्यालयको अनुदानका बजेट नियमित पठाइरहेको जानकारी दिनुभयो । उहाँले शिक्षा शाखा मार्फत विद्यालयको नियमति अनगुमनको काम पनि भइरहेको जानकारी दिनुभयो ।

वुद्ध भवानी माविमा भएको अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा खानेपानीको व्यवस्था नभएको, व्यवस्थित शौचालय नभएको, खेल मैदान नहुँदा नियमित खेल गतिविधि सञ्चालन हुन नसकेको लगायतका गुनासो राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र खत्रीले विद्यालय पुननिर्माणको चरणमा भएकोले केही समस्या रहेको बताउनुभयो । उहाँले खानेपानीको दीर्घकालिन समस्या समाधानको लागि विद्यालयले काम गरिरहेको भए पनि तत्कालको लागि विद्यार्थीलाई घरबाट बोतलमा पानी ल्याएर व्यवस्थापन गर्न आग्रह गर्नुभयो । छात्राहरूको शौचालयलाई तत्काल व्यवस्थित गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहभागी अभिभावकले कोभिड–१९ को महामारी अहिले पनि नसिकएकोले विद्यालयमा सुरक्षा मापदण्डमा ध्यान दिन सुझाव दिनुभयो । यसको साथै अति विपन्न विद्यार्थीलाई विद्यालय सामाग्री तथा अन्य सहयोग गर्न पनि उहाँहरूले विद्यालय प्रशासनलाई सुझाव दिनुभएको थियो ।

प्रधानाध्यापक खत्रीले अति विपन्न भनि छनोट भएका विद्यार्थीलाई विद्यालयले दाताहरूबाट सहयोग जुटाएर भए पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नबराज पथिक