क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलय, पोखराको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम भदौ १२ गते सम्पन्न गरिएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी परियोजना) अन्तर्गत कास्कीको अन्नपुर्ण गाउँपालिकामा रहेका विद्यालयहरूमा गठित बाल अधिकार चेतना समूहका सदस्य र संरक्षक शिक्षकहरूलाई बाल अधिकारसम्बन्धी तालिम दिइएको इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीका लागि बाल अधिकारसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेर बाल अधिकारको प्रवर्धन र बाल अधिकारसम्बन्धी शिक्षा प्रदान गरेकोमा इन्सेकलाई धन्यवाद दिए । बाल अधिकार उल्लङ्घनका घटनालाई न्युनीकरण गर्नका लागि सबैको निगरानी आवश्यक रहेको प्रमुख बुढाको भनाई छ ।

शान्तिका लागि नागरिक समाजका अध्यक्ष विष्णु बरालले बालबालिकाहरूलाई अधिकार सँगसँगै  कर्तव्य र दायित्वका बारेमा समेत सचेत गराउनु पर्ने बताए ।

गैरसरकारी संस्था महासङ्घ, कास्कीका अध्यक्ष पदमराज पहारीले तालिममा सिकेका कुराहरूलाई ब्यवहारमा उतार्न सके जीवनमा महत्वपूर्ण परिर्वतन ल्याउने हुँदा सिर्जनात्मक काममा विद्यार्थीहरूलाई अग्रसर हुन आग्रह गरे ।

राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत रेखा बास्तोलाले बाल अधिकारको पूर्ण उपयोगको सुनिश्चितता गर्नु राज्य तथा घर, परिवार समाज सबैको दायित्व भित्र पर्ने बताइन् ।

पोखरा महानगरपालिका सामाजिक विकास शाखा प्रमुख कल्पना सापकोटाले गाउँगाउँमा पुगेका स्थानीय सरकारले पनि बालबालिकाको क्षमता अभिवृद्धिका लागि भूमिका खेल्नुपर्ने धारणा राखिन् ।

मानव अधिकार निगरानी समूह कास्कीका अध्यक्ष श्यामनाथ कुँवरले विद्यालयले उत्कृष्ट तवरबाट बालमैत्री शिक्षणको विकास गर्नुपर्ने बताए ।

महिला मानव अधिकार रक्षक सञ्जाल, कास्कीका उपाध्यक्ष तारामाया थापाले तालिममा सिकेका कुरालाई ब्यवहारिक रूपमै कार्यान्वयन गर्न बालबालिकालाई आग्रह गरिन् ।

कार्यक्रममा बाल अधिकारको ऐतिहासिक विकासक्रम र बाल अधिकारमहासन्धीका विषयमा पोखरा महानगरपालिका सामाजिक विकास शाखा प्रमुख कल्पना सापकोटा, इन्सेक परिचय बाल अधिकार चेतना समूहको काम कर्तव्य र अधिकार साथै कार्य योजनाको विषयमा इन्सेक गण्डकी प्रदेश कार्यालयका कार्यक्रम संयोजक सवनम शर्मा, मानव अधिकार र बाल अधिकारका विषयमा इन्सेक प्रदेश संयोजक शिव खकुरेल र बाल अधिकारसम्बन्धी ऐन २०४८ तथा नेपालको संविधान २०७२ मा बाल अधिकार र बाल संरक्षण नीतिका विषयमा अधिवक्ता कुञ्जनी परियारले सहजीकरण गरेका थिए ।

photo20180828kaski (1) photo20180828kaski (2) photo20180828kaski (3) photo20180828kaski (4)

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा