कोभिड-१९ को सङ्क्रमण नियन्त्रणमा सिङ्गो समाज परिचालित हुनुपर्छ: संयोजक गौतम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश संयोजक कृष्ण गौतमले नागरिक समाज, गैह्रसरकारी सङ्घसंस्थाहरू तथा सञ्चार क्षेत्रको सकारात्मक खबरदारी, सचेतनामूलक अभियान र सहकार्यले राज्यलाई कोभिड–१९ को सङ्क्रमण नियन्त्रण, व्यवस्थापन र पूर्व तयारीमा सहयोग पर्याएको बताउनु भएको छ ।
युएसएआइडी तथा एफएचआईको सहयोग र इन्सेकको आयोजनामा सिन्धुलीमाढीमा कात्तिक २६ गते आयोजित ‘कोभिड १९ ले पारेको प्रभाव नागरिक समाज र सञ्चार जगतको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कोभिड–१९ नियन्त्रणका लागि सिङ्गो समाज नै परिचालित हुनुपर्ने अवस्था आएको समेत बताउनु भयो ।
राज्यका सबै निकायले संविधानमा उल्लेख गरिएको मौलिक हकमध्येको स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्दै लानुपर्नेमा पनि उहाँको जोड थियो । उहाँले राज्यका निकायलाई नागरिकसँग जोड्न थप महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।
संयोजक गौतमले कोभिड-१९ का कारण महिला बालबालिकाहरू बढी प्रभावित रहेको बताउँदै मानवअधिकार उलङ्घनका घटनाहरू न्यायको पहुँचमा नजाने र रिपोर्टिङमा समेत नआउने गरेको बताउनु भयो । उहाँले विगतमा नागरिक समाजका अगुवा संस्थाले विपद व्यवस्थापनमा अग्रमोर्चामा काम गरेको र कोभिड नियन्त्रणमा पनि अग्रपंक्तिमै काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कोभिडका कारण रोग भन्दा भोक र चिन्ताले मानिसहरू मर्न सक्ने अवस्थाको सृजना भएको बताउँदै गौतमले यसको अन्त्य गर्न नागरिक समाज र पत्रकारले जनता र राज्यलाई जवाफदेहि बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अन्तर्पार्टी महिला सञ्जालका अध्यक्ष सविता कोइरालाले राज्यलाई नागरिकसँग जोड्ने सङ्घसंस्था तथा सञ्चार क्षेत्रलाई नै कोभिडले प्रभाव पारेको बताउँदै यस्ता संस्था निश्क्रिय हुँदा समस्या बढ्दै जाने बताउनु भयो ।
उहाँले महामारीमा महिला बालबालिकाका मुद्दाहरू ओझेलमा परेकाले यसतर्फ नागरिक समाज र सञ्चारजगतको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटीका सभापति अशोक श्रेष्ठले नागरिक समाजले कोभिड–१९ को उपचार, व्यवस्थापन र पूर्व तयारीमा उल्लेख्य भूमिका खेलेको बताए । उहाँले पत्रकार, विभिन्न सङ्घसंस्थाहरू, मानव अधिकारकर्मीहरूले जिल्लामा कोभिड व्यवस्थापनमा सकारात्मक सहकार्य गरी राज्यलाई सहयोग गरेको बताए ।
नेपाल पत्रकार महासङ्घ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहालले कोभिड–१९ को परीक्षण कमी भएको र सङ्क्रमण भुसको आगो जस्तो सल्किएकाले भोलिको जोखिमको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका जिल्ला सचिव विदुर पौडेलले कोभिडले पत्रकारहरूको रोजगारीमा समस्या भएको, जिल्लाका साना लगानीका मिडियाले फोन तथा विजुलीकै पैसा तिर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले कोभिड–१९ नियन्त्रण, रोकथाम र पूर्व तयारीका साथै जनचेतना फैलाउन खटिएका सञ्चारकर्मी नै टिक्न नसक्ने गरी सङ्कटमा परेको बताउनु भयो ।
जिल्लास्तरीय मानव अधिकार सञ्जालका संयोजक द्वारिका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा गैससकर्मीहरुले कृषि, पशु लगाएतका क्षेत्रमा उत्पादनमा ह्रास आएको, सङ्घसंस्थाहरूले जिविको पार्जनसँग जोडेर र कोभिड न्युनिकरणमा सचेतना फैलाएर, स्वास्थ्य सामग्री सहयोग गरेर विभिन्न तरिकाले सहयोग गरेको बताएका थिए । कार्यक्रमका सहभागीहरूले कोभिडका कारण महिला बालबालिकाको न्यायको पहुँचमा समस्या भएको बताएका छन् ।
यस्तै सञ्चारकर्मीहरूले जोखिम मोलेर पत्रकारिता गरेको, पारिश्रमिकमा कटौती भएको, बेतलबी विदा बस्नुपरेको गुनासो गरेका छन । सञ्चार क्षेत्रका लागि राहत पुग्ने खालका कार्यक्रम ल्याउन तीनै तहका सरकारले नसोंचेको पनि उनीहरुले गुनासो गरेका छन् ।
कार्यक्रममा इन्सेक बाग्मति प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले विषयवस्तुमाथि प्रकाश पार्नु भएको थियो भने समाजसेवी रामबहादुर हायु, महिला मानव अधिकार सञ्जालका अध्यक्ष अप्सरा खड्का, अधिकारकर्मी अनिता पहाडी, पत्रकार राधिका बुढाथोकी, सहकार्य नेपालका सन्जिव सुनुवार लगाएतले कोभिडले पारेको असरका बारेमा जानकारी गराएका थिए ।
बिमला पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार १३ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश गिरीले तथ्याङ्क सार्वजनिक…
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवाा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि जिल्लामा स ङ्कलित घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते धादिङबेसीमा सम्पन्न…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाश पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १२ गते बैतडीमा सम्पन्न भएको छ । इन्सेकले…
जिल्ला प्रतिनिधीसँगको अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग प्रदेशका मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १० गते मकवानपुरको इन्द्रसरोवर–१ मार्खुमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सिन्धुपाल्चोक…
जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम असार १० गते धनुषाको लालगढमा सम्पन्न गरिएको छ । जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सप्तरी प्रतिनिधि मनोहर पोखरेलले जिल्लामा…