कोभिड व्यवस्थापनमा सबैसँग सहकार्य गर्न मानवअधिकार समूहको ध्यानाकर्षण

  ०७८ जेठ २७ गते

मानवअधिकार समूह भानु नगरपालिकाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को दोश्रो लहरको सामना गर्न सबै सरोकारवालासँग सहकार्य र हातेमालो गर्न भानु नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूहले जेठ २६ गते नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै कोभिडलाई परास्त गर्न सबै सरोकारवालाहरूसँग सहकार्य गर्नुपर्ने र नागरिकको स्वास्थ्यको अधिकार प्रति विशेष ख्याल गर्नुपर्ने माग गरेको हो ।

मानवअधिकार समूहका संयोजक कृष्णराज धमनीयाले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षण पत्रमा कोभिडको असरले भानु नगरपालिका पनि प्रभावित बनेको र कोभिडको दोश्रो लहर सुरू भएपछि भानु नगरपालिकामा मात्रै १ सय ६९ जना सङ्क्रमित भएकोमा हाल १ सय ६ जना सक्रिय सङ्क्रमित रहेको र पाँच जनाको मृत्यु भएको उल्लेख छ ।

कोभिड सङ्क्रमितको उपचारको लागि भानु नगरपालिकाले आइसोलेशन सेण्टर र कोभिड अस्पतालको स्थापना गरेको कार्य सराहनीय भएको भन्दै कोभिड अस्पतालमा अक्सिजनको र एम्बुलेन्सको व्यवस्थापन पनि राम्रो भएको उल्लेख गरिएको छ ।

कोभिड अस्पतालको व्यस्थापनसँगै होम आइसोलेशनमा बस्नेहरूको बसाइ व्यवस्थापनको अनुगमन तथा उनीहरूको स्वास्थ्य अवस्थाको जानकारी लिइरहनुपर्ने तथा उपचारमा लाग्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै ध्यानाकर्षण पत्रमा होम आइसोलेशनमा बस्ने सङ्क्रमितहरूको कारण कतिपय परिवारका सदस्यहरू पनि सङ्क्रमित भएको घटनाहरू सार्वजानिक भएको जनाइएको छ । सामुदायिक आइसोलेशन सेण्टर खाली हुनु र होम आइसोलेशनमा बस्न नगरपालिकाले नै प्रश्रय दिने गरेको कारण सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको मानवअधिकार समूहले जनाएको छ । होम आइसोलेशनमा बस्नेहरूको बसाइ व्यवस्थापनको बारेमा अनुगमन गरी परिवारका अन्य सदस्यहरू सङ्क्रमित नुहने वातावरण निर्माणको लागि समूहले नगरपालिकालाई अनुरोध गरेको छ ।

कोभिडको जोखिमको कारण लगाइएको निषेध आदेशको कारण शिक्षा, स्वास्थ्य र खाद्य लगायतका सवालमा सरोकारवालाको ध्यान पुग्न नसकेको भन्दै ध्यानाकर्षण पत्रमा विपन्न परिवारको खाद्य व्यवस्थापन, दिर्घरोगी तथा जेष्ठ नागरिकको उपचारको व्यवस्था, बन्द रहेका शैक्षिक संस्थामा नतिजा प्रकाशन गरी नयाँ शैक्षिक सत्रको सुरूवातको तयारी तथा आगामी वर्षको योजना निर्माणको क्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई उचित सम्बोधन गर्ने गरी योजना निर्माण गर्न माग गरिएको छ ।

मानवअधिकार समूहको तर्फबाट भानु नगरपालिकामा यसअघि नै बुझाइएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी ध्यानाकर्षण पत्रलाई आगामी वर्षको नीति, योजना र कार्यक्रममा उचित सम्बोधन गर्न पनि माग गरिएको छ ।

सो ध्यानाकर्षण पत्र इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीलाई बुझाउनुभएको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत तिवारीले कोभिडको व्यवस्थापनमा नगरपालिका सबै सरोकारवालाहरूसँग हातेमालो गरेर अगाडि बढ्नुका साथै आगामी वर्षको योजनामा शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखेर योजना बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

photo20210610Tanahun1

प्रकाशचन्द्र भट्टराई