कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

  ०८१ पुस २७ गते

मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ ।

३८ वर्षीय पति तिर्थराज चौलागाईले ०८० साउन २९ गते कुटपिट गर्दै घर निकाला गरेको पीडितले बताउनु भयो । त्यसपछि पतिले बाँकेमा दोस्रो विवाह गरेर बसेको पीडितले थाहा पाएपछि कानुनी उपचारका लागि आर्थिक नहुँदा समस्या भएको उहाँले बताउनु भयो । पीडितले पतिसँगको सम्बन्ध विच्छेद र खाना खर्चका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्नका लागि सहयोग माग गर्दै इन्सेकमा पुस २५ गते निवेदन दिनुभएको थियो ।

पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको पुस २६ गते बसेको सचिवालय बैठकको निर्णय अनुसार नगद १२ हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्रा खर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

जगतदल जनाला विक