एफके युथ एक्सचेञ्ज कार्यक्रमः एक खुल्ला विश्वविद्यालय

  ०७५ भदौ २९ गते

एफके एक्सचेञ्ज कार्यक्रमका सहभागीहरूले युथ एक्सचेञ्ज कार्यक्रम ज्ञान हासिल गर्ने एक खुल्ला विश्वविद्यालयको रूपमा रहेको बताएका छन् ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ७ को कार्यालय धनगढीको आयोजनामा भदौ २९ गते गरिएको एफके कार्यक्रमको अन्तिम समीक्षा बैठकमा सहभागीहरूले आठ महिनाको अवधिमा आफ्ना सिकाइ र अनुभवहरू सुनाउँदै एक्सचेञ्ज कार्यक्रमल खुल्ला विश्वविद्यालय सावित भएको बताएका हुन् ।

इन्सेक केन्द्रीय कार्यालयका व्यवस्थापन कार्यक्रम प्रमुख प्रेमप्रसाद पराजुलीले नेपालको इन्सेक र भारतको मानव अधिकार जननिगरानी समितिका प्रतिनिधि युवाहरूबिच डिसेम्वर २०१५ बाट सुरू गरिएको एक्सचेञ्ज कार्यक्रमका सहभागीहरूले चार÷चार महिना दुवै संस्थामा रही कार्य गर्दै र सिक्दै आएकोे बताए ।

सामाजिक कार्यमा युवाहरूको सहभागिता बढाउँदै सामाजमा साकारात्मक परिवर्तन ल्याउन र युवाहरूको नेतृत्व विकासमा सहयोग पुर्‍याउने उद्देश्यले एफके युथ एक्सचेञ्ज इन्सेकले सञ्चालन गर्दै आएको इन्सेक प्रदेश ७ कार्यालय धनगढीका संयोजक खडकराज जोशीले बताए । उनले युथ एक्सचेञ्जका सहभागीहरूले आठ महिनाको अवधिमा सिकेका कुरालाई आफ्नो दैनिक जीवनमा लागु गर्न र सामुदायमा सिकाउन आवश्यक रहेको बताए ।

समिक्षा बैठकमा एक्सचेञ्ज कार्यक्रमका सहभागी ऋचा पनेरुले आठ महिनाको एक्सचेञ्ज कार्यक्रममा आफूले धेरै कुरा सिक्ने मौका पाएको बताए ।

उनले नर्वे, भारत र नेपाललगायतका विभिन्न सङ्घ संस्था भ्रमण गर्ने क्रममा र इन्सेक, मानव अधिकार जननिगरानी समितिसँग काम गर्दा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्ने र यस अवधिमा आफ्नो आत्मबल बढेको, सामूहिक कार्य गर्न सक्षम भएको बताउँदै यस कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन स्पष्ट निर्देशिका हुनु पर्ने बताइन् ।

इन्सेकले विगतमा स्टाफ–स्टाफ बिच एक्सचेञ्ज कार्यक्रम गर्दै आएता पनि सामाजिक विकासका लागि अहिले युवा–युवाहरूबिच पनि एक्सचेञ्ज गराउँदै आएको छ ।

रविना चौधरी