एक हप्ताभित्र भूकम्पपीडितका लागि निर्माण सामग्रीको मुल्यसूची टाँस्छौः उपप्रमुख बस्नेत

भूकम्पपीडित लाभग्राहीको गुनासोलाई मध्यनजर गर्दै एक हप्ताभित्र निर्माण सामग्रीको मुल्यसूची हरेक व्यवसायीको पसलमा टाँस गरिने भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् ।

Photo20180528Dolakha

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भीमेश्वर नपा-३ चरिकोटमा जेठ १४ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपप्रमुख बस्नेतले उक्त कुरा बताएकी हुन् । बस्नेतले जनप्रतिनिधिहरू भूकम्पपीडितको सवाललाई केन्द्रमा राखेर काम गर्दा आशातित् उप्लब्धि हासिल हुन नसकेको गुनासो राखेका थिए ।

कार्यक्रममा भीमेश्वर नपा-५ का दीलबहादुर बस्नेतले भूकम्पपीडितले निजी आवास निर्माण गर्न सरकारले ०७५ असार मसान्तभित्र दोश्रो किस्ता लिनुपर्ने समय तोकोको छ । तर, निर्माण व्यवसायीले मनलाग्दो सामग्रीको मुल्य लिन्छन् । गुणस्तरीय सामग्री दिँदैनन् स्थानीय सरकारले यसको अनुगमन गर्नुपर्ने धारणा राखेका थिए ।

Photo20180528Dolakha1

सोही नपा-४ का लालप्रसाद चौलागाईँले ६ महिना पहिले १८ हजार रुपियाँमा पाइने बालुवा अहिले २५ हजार, २० हजार रुपियाँमा पाइने गिटी २७ हजार र ७८ रूपियाँमा पाइने रड १ सय २ रूपियाँ तिर्दा समेत व्यवसायीहरूले सामग्रीको अभाव देखाई गुणस्तरहीन सामग्री बेच्ने गरेको गुनासो गरे । दोश्रो किस्ता रकम माग फाराम भरेको २ महिना बित्दा समेत निकासा नभएकोमा जिम्मेवार निकायले अनेक दुःख दिएको उनले बताए ।

भीमेश्वर नपा-५ का रमेश बस्नेतले प्राविधिकहरूले उस्तै डिजाइन र मापदण्डका आधारमा आवास निर्माण गर्दा समेत पूर्वाग्रही भई सिफारिस गर्ने गरेको बताए । बिगु गाउँपालिका-६ की जुलीमाया थामीले छुटेका घरधुरीको गुनासो सुनुवाइ कहिले हुने भन्दै चैतमा दोश्रो किस्ताको सिफारिस भएकोमा हालसम्म रकम निकासा नभएको भन्दै दुःखेसो पोखिन् ।

Photo20180528Dolakha2

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले जिल्ला प्रशासन कार्यालयले व्यवसायी, उद्योगीसँग छलफल गरी सबैखाले उपभोग्य सामग्रीको निगरानी र नियन्त्रण गर्ने र अटेर गरे कारवाही गर्ने बताए ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख राजर्षी घिमिरेले प्राविधिकले पक्षपातपूर्ण काम गरेमा वा समयमा प्रविधिकले सेवा नदिएको खण्डमा कारबाहीको दायरामा ल्याउने बताए ।

उद्धव पोखरेल