उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या

उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या रहिरहने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको आयोजना र इन्सेक, उपभोक्ता हीत संरक्षण मञ्चलगायतको सहकार्यमा चैत १ गते आयोजित विश्व उपभोक्ता दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा नेपालगञ्ज उमनपाका उपमेयर उमा थापा मगरले उक्त कुरामा जोड दिएकी हुन् ।

“गुणस्तरीय बस्तु र सेवामा उपभोक्ताको अधिकारः हामी सबैको सरोकार” भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा उपमेयर मगरले जबसम्म उपभोक्ता सचेत हुन सक्दैनन् तबसम्म व्यापारीहरूले ठगी गर्न नछोड्ने बताउँदै व्यपारीहरूको मुख्य उद्धेश्य भनेकै नाफा कमाउने भएको बताइन् । ‘त्यसो भएको हुँदा उपभोक्ता सचेत हुनु आवश्यक छ ।’–उनले भनिन् ।

उनले उमनपाभित्र अनुगमन समिति भएपनि आवश्यकता अनुसार अनुगमन गर्न नसकि रहेको स्वीकार्दै अबका दिनमा समन्वय र सहकार्यमा अनुगमनलाई तीव्र बनाउने प्रतिबद्धता जनाइन् ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपालगञ्जलाई मात्र फोकस गरेर अनुगमन गरिएको मा यसलाई आठ ओटै स्थानीय तहमा अनुगमन समिति गठन गरेर अनुगमनलाई नियमित बनाउनु पर्ने बताए ।

उपभोक्ता सचेत व्यवसायीहरू आफै गुणस्तीयर वस्तु दिन बाध्य हुने बताए । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता बसन्त गौतमले कानुनी प्रावधानको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेलले अनुगमनमा देखिएका समस्याका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज