इन्सेक र नेपाल अपाङ्ग समाजको सहकार्यमा सञ्चालित परियोजना सम्पन्न

इन्सेक र नेपाल अपाङ्ग समाजले सिरहामा संयुक्त रूपमा सञ्चालन गरेको नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजनाको पुस ८ गते एक कार्यक्रम गरी सम्पन्न भएको जानकारी दिइएको छ ।

सन २०१५ जनवरीदेखि २०१६ डिसेम्बरसम्म दुई वर्षसम्म सिरहाका हनुमान नगर प्रम, लक्ष्मीपुर, विष्णुपुर प्रम र बेल्हा गाविस गरी चार ओटा गाविसमा सञ्चालित परियोजनाले यस क्षेत्रका पछाडि पारिएका समुदायलाई न्याय र सरकारी सेवाको पहुँचमा ल्याउन सफल भएको कार्यक्रमका वक्ताहरूले बताए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी सुरेशकुमार राउतले राज्यको सबै ठाउँमा पहुँच न पुगेकोले पहुँच पुर्‍याउन सङ्घ संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

जिल्लामा आर्थिक रूपमा जनताहरू सशक्त नभएकोले अब सङ्घ संस्थाहरूले आर्थिक रूपमा सवल बनाउने परियोजनाहरू सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए । इन्सेक पुर्वाञ्चलका क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले देशमा दुई ठुला राजनीतिक परिवर्तनहरू भए पनि जनताको स्तरमा परिवर्तन नभएको बताए ।

राजनीतिक तथा नागरिक अधिकारको कुराहरू धेरै भइसकेकोले अब पछाडि परेका समुदायहरूको सशक्तिकरणको लागि आर्थिक, सामाजिक अधिकारमा जोड दिनु पर्ने बताए । संयोजक थापाले महिला, दलित, अपाङ्गहरूलाई आर्थिक रूपले सशक्तिकरण गर्न यो परियोजनाले केही हदसम्म भए पनि सहयोग गरेको र यसलाई निरन्तरता दिन राज्यका निकायहरूले भूमिका निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका बुद्धिमान दनुवार, कृषि कार्यालयका मिथिलेश साह, जिल्ला प्रशासन कार्यालयका सुमन भट्टराई, जागरण नेपालकी मिना विष्ट, दलित सेवा सङ्घका चक्रमान विक, गैर सरकारी संस्था महासङ्घका अध्यक्ष गोविन्दराज विष्ट, नेपाल पत्रकार महासङ्घका अध्यक्ष देवकुमार यादव लगायतले परियोजनाले उदाहरणीय काम गरेको प्रतिक्रिया दिएका थिए ।

.

.

.

.

.