इन्सेक र कोक्यापद्वारा मानव अधिकार रक्षकहरूको भूमिका विषयक छलफल कार्यक्रम सम्पन्न

  ०७९ मङ्सिर २२ गते

इन्सेक, कोक्याप, र सामुदायिक सेवा केन्द्र लगायतको आयोजनामा राजविराजमा मङ्सिर २२ गते “मानव अधिकार रक्षकहरुको अवस्था, सवाल र सरोकारवालाहरुको भूमिका” विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र मानव अधिकार रक्षक दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले मानव अधिकार रक्षकहरूको हक, हित र संरक्षणमा जोड दिनुभयो । साथै उनीहरुको भूमिकालाई सबल, उत्तरदायी, संगठित र पारदर्शी बनाउनु पर्ने पनि बताउनु भयो ।

मानव अधिकारको सम्मानका लागि कानुनी शासन तथा मानव अधिकारमैत्री संस्कृति निर्माण गर्न जरुरी रहेको भन्नुहुँदै इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न नेपाल सरकारसँग माँग गर्नुभयो ।

नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाईका अध्यक्ष रामप्रसाद चौधरी, बार एकाईका निवर्तमान अध्यक्ष डोमन साह, सिकाईका मधेस प्रदेश अध्यक्ष रेणु कर्ण, र राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्ण लगायतले मानव अधिकार रक्षकहरूले उच्च आत्मबलका साथ काम गर्ने वातावरणको माँग गर्नुभयो ।

साथै उनीहरुको सुरक्षा, पहिचान र सम्मानलाई अभिवृद्धी गर्न आवश्यक नीति बनाउनु पर्ने बताउनु भयो ।

सिकाई सञ्जाल सप्तरीका अध्यक्ष कविता जयसवालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादव, उच्च अदालत बार एकाई राजविराजकी सहसचिव दानो चौधरी, प्रहरी निरीक्षक नविन थापा, महिला, बालबालिका र जेष्ठ नागरिक शाखा प्रमुख अनीता चौधरी, प्याब्सनका सचिव संजय शर्मा, मानव अधिकार रक्षक सञ्जालकी सचिव माधवी शाह, मनोविमर्शकर्ता रन्जना चौधरी, कोक्यापका शत्रुघ्न महतो, पत्रकारहरु बृजमान तामाङ र पिन्टु यादव, शिक्षक, यौनिक अल्पसंख्यक, र मानव अधिकार रक्षकहरूको सहभागिता रहेको थियो ।

सिकाई सञ्जालकी पुनम पोखरेलद्वारा सञ्चालित कार्यक्रममा कोक्यापकी प्रदेश सदस्य बिन्दा पासवानले स्वागत मन्तव्य राख्नु भएको थियो ।

मनोहरकुमार पोखरेल