इन्सेक मधेस प्रदेशद्वार मानव अधिकार अवस्था सार्वजनिक

  ०८१ साउन २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८१ साउन २५ गते सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को मानव अधिकार अवस्था सार्वजनिक गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्रे (इन्सेक) मधेस प्रदेश कार्यालयले विगतदेखि नै त्रैमासिक रूपमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाहरूको विश्लेषण सहितको प्रतिवेदन प्रकाशन गर्दै आएको छ । यस प्रदेश कार्यालय अन्तर्गत रहेका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ ओटै जिल्लाका प्रतिनिधिहरूले सन् २०२४ (अप्रिलदेखि जुनसम्म) मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखिकरण गरी यो स्थितिसूचक प्रकाशन गरिएको छ । मधेस प्रदेशमा अप्रिलदेखि जुनसम्मको अवधिमा ७ सय ९ महिला सहित ७ सय ४४ जना पीडित भएका छन् ।

तीन महिनाको मानव अधिकार उल्लङ्घन तथा ज्यदतीका घटनाहरुको तथ्याङ्क विश्लेषण गर्दा मधेस प्रदेशमा अन्य पक्षबाट ७ सय ३० र राज्य पक्षबाट नौ जना पीडित भए । जसमध्ये ७ सय ९ महिला, २१ पुरुष अन्य पक्षबाट पीडित भए भने नौ जना पुरुष राज्य पक्षबाट पीडित भए । त्यस्तै यो तीन महिनाको अवधिमा पाँच ओटा आर्थिक सामाजिक तथा राजनीतिक अधिकारका घटनाहरू पनि अभिलेख गरिएको छ ।

इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधामले सन २०२४ अप्रिलदेखि जुनसम्मका अभिलेखित घटननाहरुको अवस्था हेर्दा सन्तोषजनक रहेको छैन । यस अवधिमा अन्य पक्षबाट १० महिला सहित १८ जनाको मृत्यु भयो ।

जसमध्ये सिरहा नगरपालिका-१८ की तीन वर्षीया बालिका रियाकुमारी यादवलाई ०८१ वैशाख १२ गते सोही ठाउँका ७२ वर्षीय धनिकलाल यादव, ४७ वर्षीया सोना देवी यादव र १९ वर्षीया पुजाकुमारी यादवले हत्या गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख १७ गते उजुरी दिए । शवको पोष्टमार्टम धरान स्थित वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख १६ गते भयो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाले वैशाख १२ गते देखि बालिका हराएको सूचना आएपछि खोज तलास गर्दै जादा वैशाख १४ गते आरोपितहरूको घरको सिढि मुनी बोरा भित्र मुसुरोको झ्याङ्ले छोपेर राखेको अवस्थामा शव फेला परेको बताए । प्रारम्भिक अनुसन्धानको क्रममा आरोपितहरूले नै बालिकाको घाटि थिचि हत्या गरेको खुल्न आएकोले आरोपितहरु सोना र पुजालाई वैशाख १५ गते गिरफ्तार गरेको र धनिकलाल हालसम्म फरार रहेकोले खोज तलास भइरहेको डिएसपी सापकोटाले बताए । जिल्ला अदालतको आदेशमा आरोपितहरू जेठ ११ गते देखि पुर्पक्षका लागि थुनामा रहेका छन ।

बाल अधिकारका घटनामा ५६ बालिका र पाँच बालक गरी ६१ जना बालबालिकाहरू पीडित भएको घटना इन्सेक मधेस प्रदेश कार्यालयले अभिलेख गर्‍यो । अभिलेखित घटना अनुसार बलात्कारका घटनामा ४३ र यौन दुर्व्यवहारका घटनामा सात जना बालिका पीडित भए ।

बालविवाह घटनामा दुई बालिका र एक बालक र बेचविखन तथा ओसारपसार घटनामा तीन/तीन जना बालिका र बालक पीडित भए । त्यस्तै, कुटपिटबाट एक जना बालक र एक जना बालिका गरी दुई जना पीडित भए ।

यस अवधिमा महिला अधिकारका घटनामा ६ सय ४३ जना पीडित भए । जसमध्ये अपहरणमा एक, घरेलु हिसाका घटनामा ५ सय ९४, बेचविखन तथा ओसापसार घटनामा चार, ‘बोक्सी’ घटनामा आठ, बहुविवाहका घटनामा चार, बलात्कार घटनामा ११, बलात्कार प्रयास घटनामा १६, यौन दुर्व्यवहार घटनामा चार, महिला भएकै कारण एक जना महिला पीडित भए ।

इन्सेक, मधेस प्रदेश कार्यालय, जनकपुरधाम