इन्सेक जिल्ला प्रतिनिधिहरूलाई मानव अधिकार प्रलेखीकरण, पैरवी विषयमा दुई दिने तालिम

  ०७८ भदौ ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरू मानव अधिकार प्रलेखीकरण, पैरवी र डिजिटाइजेशनका विषयमा दुई दिने तालिम पोखरामा सुरू भएको छ ।

तालिमको उद्घाटन गर्दै इन्सेकका अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले नेपाल पक्ष राष्ट्र भएका महासन्धिसँग रहेर इन्सेकले आफ्नो अभियानलाई अगाडि बढाइरहेको बताउनुभयो ।

इन्सेकको मानव अधिकार अभियानको महत्वपूर्ण खम्बाको रूपमा जिल्ला प्रतिनिधिहरू रहेको बताउँदै उहाँले दुई दिनको तालिमबाट जिल्ला प्रतिनिधिहरूमा मानव अधिकार प्रलेखीकरण, अनुमगनका विषयमा धेरै बुझ्ने र सिक्ने अवसर मिल्ने अपेक्षा राखेको बताउनुभयो ।

इन्सेकका पूर्व महासचिव डा. कुन्दन अर्याल प्रभावकारी ढङ्गबाट मानव अधिकारका सवालहरूलाई अभिलेखिकरण गर्न सकिन्छ भन्ने बारे तालिम केन्द्रित रहने बताउनुभयो ।

उहाँले तालिममा मानव अधिकारको आधारभूत विषय, मानव अधिकारका अन्तराष्ट्रिय सन्धी, मानव अधिकार प्रलेखीकरण साथै समाचार सम्प्रेषणका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

photo20210916Kaski4

इन्सेक प्रलेख तथा पैरवी कार्यक्रम विभाग प्रमुख श्रीराम बजगाइले मानव अधिकारको प्रलेखीकरण र अनुमगनलाई प्रभावकारी बनाउने उद्धेश्यले जिल्लामा कार्यरत प्रतिनिधिहरूलाई तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।

इन्सेकले मानव अधिकारमैत्री शासन, प्रशासन र राज्य स्थापित गर्नका लागि भूमिका केन्द्रित रहने उहाँले बताउनुभयो ।

photo20210916Kaski5

इन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमले तथ्य र तथ्याङ्कमा आधारित रहेर मानव अधिकारको पक्षमा काम गर्दै आएका कारण इन्सेकको विश्वसनियता बढेको बताउनुभयो ।

उहाँले समयक्रम अनुसार मानव अधिकारका विषयमा परिर्वतन आएको बताउँदै अब आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा प्रलेख र पैरवीमा भूमिका केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो ।

photo20210916Kaski3

इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले इन्सेकको बलियो र महत्वपूर्ण पाटो भनेको पीडितहरूसम्म नै पुग्ने र उनीहरूकाे आवाजलाई उठाउँदै न्यायको पक्षमा वकालत गर्न जिल्ला प्रतिनिधिहरूको क्रियाशील भूमिका रहनुपर्ने बताउनुभयो ।

तालिममा गण्डकी र बागमती प्रदेशका जिल्ला प्रतिनिधिहरू सहभागी रहेका छन् ।

सुशन घिमिरे