इन्सेकले दिएको सुझाव प्रभावकारी

  ०७८ मङ्सिर २ गते

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सामाजिक सङ्घसंस्थाले समस्या पहिचान गरी त्यसको सम्बोधनका लागि राज्यलाई सुझावले प्रभावकारी कार्य सम्पादन हुने बताउनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयद्धारा कोशी गाउँपालिका तथा भोक्राहा नरसिंह गाउँपालिका गठित मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा समस्या पहिचान गरी मङ्सिर २ गते जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यादवले इन्सेकले दिएको सुझाव प्रभावकारी हुने बताउनु भयो ।

कोशी टप्पुवन्य जन्तु आरक्षमा कार्तिकमा २४ ओटा भन्दा बढी पशु चौपायाको हत्या भएको गुनासो किसानहरूको इन्सेक समक्ष आएकाले वास्तविक घटना के हो ? कसले पशु चौपायाको हत्या गरेको हो ? सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडित किसानलाई क्षतीपूर्ति उपलब्ध गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको मानव अधिकार समूह भोक्राहा नरसिंह अध्यक्ष सुनिता उरावले बताउनु भयो ।

ज्ञापनपत्रमा कोशी नदीमा बगेर आउने काठ दाउराको उचित संरक्षणसहित नदीमा काठ दाउरा सङ्कलन गर्ने नागरिकमाथि सुरक्षाकर्मीको हस्तक्षेप बढेकाले त्यसमा सहजीकरण गर्नुपर्ने माग गरिएको छ । त्यसैगरी समस्या समाधानका लागि स्थानीय,जनप्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायबिचमा छलफल गरी नीतिगत र व्यवहारिक सवालमा समन्वय गर्नुपर्ने सुझाव दिइएको छ ।

ज्ञापनपत्रमा कात्तिक १ देखि ३ गतेसम्मको वर्षा र बाढीले क्षतिग्रस्त भएको लोकमार्गको इनरूवा लौकही खण्डको भोक्राहा नरसिंह गाउँपालिका–४ र ५ क्षेत्रमा आवतजावत गर्न साइकल, मोटरसाइकल र पैदलयात्रुलाई समस्या भएको र दुर्घटनाको जोखिम समेत उच्च भएकाले सडकको दक्षिणतर्फ कटान भएको ठाउँहरू तत्काल मर्मत सम्भार गर्नुपर्ने,  कोशी र भोक्राहा नरसिंह गाउँपालिकासहित कृषकहरूलाई रसायनिक मल, उन्नत जातको बिउविजन समयमा उपलब्ध गराउन पहल गर्नुपर्ने, माटो सुहाउँदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्न माग र समन्वय गर्न आग्रह गरिएको छ ।

कृषि, पशु, शिक्षा र स्वास्थ्य कार्यालयमा अनुगमन गरी जबाफदेहिता र नियमितताका लागि सुझाव दिनुपर्ने तथा ढिलासुस्ती गर्नेलाई कारबाही गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

इन्सेकले कोशी गाउँपालिका तथा भोक्राहा नरसिंह गाउँपालिकामा ०७६ कात्तिकदेखि स्थानीय तहमा मानव अधिकार समूह गठन गरेर मानव अधिकार रक्षाको वकालत गर्दै सचेतनामुलक अभियान समेत गर्दै सञ्चालन गर्दै आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

कोशी र भोक्राहा नरसिंह गाउँपालिकाको १ देखि वडा–८ सम्मका प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तरगत मानव अधिकार समूहको गठन गरिएको छ ।

मानव अधिकार समूह भोक्राहा नरसिंह अध्यक्ष सुनिता उरावले वडामा नागरिकसँगको प्रत्यक्ष भेटघाट, अन्तरवार्ता र समूहको आयोजनामा सम्पन्न गरिएको, वडास्तरीय गोष्ठी कार्यक्रममा विभिन्न विषयगत शाखाहरु, राजनीतिक दल, जनप्रतिनिधि, सहकारी संस्था, गैरसरकारी संस्थाहरू, महिला तथा किशोरी समूहका सदस्यहरू तथा कृषि र कृषक समूहको सहभागितामा गरिएको कार्यक्रममा आएका सवालहरूको सम्बोधन गर्न जिल्ला तथा प्रदेश र सङ्घीय सरकारले गर्नुपर्ने आवश्यक रहेकाले ज्ञापन पत्र बुझाइएको बताउनु भएको छ ।

Photo 20211118 Sunsari (2)

Photo 20211118 Sunsari (1)

  Photo 20211118 Sunsari (3)

Photo 20211118 Sunsari (4)

जयकृष्ण यादव