इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा असार ८ गते चौतारा सागाचोकगढी नपा-८ मा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ ।

कार्यक्रममा भूकम्प पीडितको अवस्था, राहत र पुनःस्थापनाका सम्बन्धमा भूकम्प पीडित, राजनीतिक दलका प्रतिनिधिहरू, निर्वाचित जनप्रतिनिधिहरू र स्थानीय नागरिकहरूबिच छलफल भएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले राहत नपाएको, गुनासो फारम भरेर पठाउदा पनि सम्बोधन नभएको, घर पुनःनिर्माणको क्रममा प्राविधिकहरूले झमेलामा पारेको गुनासो राखेका थिए ।

त्यसैगरी नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सचिव झलक नेपालले गाउँगाउँमा विभिन्न सङ्घ संस्थाहरूबाट आएका प्राविधिकहरूले भूकम्प पीडितहरूलाई दुबिधामा पारेको बताए ।

वडामा खटिएका इन्जिनियर पृथ्वी बिसुरालले गाउँमा बसेर आफूहरूले जनताहरूको सक्दो सेवा गर्न चाहेको बताए । वडा सचिव शान्ति ढकालले जनतालाई लागेको र समस्या परेको कुराको गुनासाहरू भन्ने अवसर यही भएकोले सबैलाई आफ्ना गुनासा निर्धक्कसँग राख्न अनुरोध गरिन् ।

स्थानीयहरूले राखेका गुनासाहरूलाई सम्बोधन गर्दै पुनर्निर्माण प्राधिकरण जिल्ला सचिवालयका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रूद्रबहादुर मल्लले वडा नं. ८ को राहत, पुनर्निर्माण तथा गुनासा निवेदनहरूको विवरण प्रस्तुत गर्दै भूकम्प पीडितहरूको घर पुनःनिर्माण गर्ने सवालमा केन्द्र भन्दा जिल्ला निकै अगाडि बढेको बताए ।

नातिबावु धिताल