इन्सेकद्वारा चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

  ०७७ वैशाख १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौडाले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्ने सहयोग पु-याउने उदेश्यले वैशाख १६ गते नगरपालिकाको कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकी, बागमती प्रदेश संयोजक कृष्ण गौतमलगायतले चार थान थर्मलगन र ५ सय थान सर्जिकल मास्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनालाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक गौतमले इन्सेक प्रदेश कार्यालयले कियोस परियोजना अन्तर्गत कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताउनु भयो ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताउदै उहाँले जुन ठाउँमा जे आवश्यकता छ, त्यही कुरा पु¥याउन सके र सबैले एकजुट भएर लागे कोरोना बिरुद्धको लडाईमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले संविधानले परिकल्पना गरेको अधिकारलाई स्थापित गराउदै समस्याको पहिचान र समाधानको पहलमा सक्रिय रहेको बताउनुभयो ।
स्थानीय तहसँगको समन्वय र सहकार्यलाई निरन्तरता दिदै जाने बताउदै उहाँले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य, आवास अधिकार संरक्षणको लागि सहयोगात्मक भूमिका निर्वाह हुदै जाने भनाई राख्नुभयो ।
इन्सेक अन्तर्गत कियोस परियोजना परियोजना प्रमुख शुभेच्छा खड्काले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सात प्रदेशको परियोजना सञ्चालनमा रहेका स्थानीय तहहरूमा आवश्यकता अनुसारको सामग्री प्रदान गरिने बताउदै चाँगुनारायण नगरपालिकाबाट यसको सुरुवात भएको बताउनु भयो
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाले नगरपालिकामा १० ओटा स्वास्थ्य संस्था रहेको जानकारी दिदै थर्मल गनको अभावलाई इन्सेकको सहयोगले ठूलो टेवा पुगेको बताउनु भयो । नगरपालिकाका सबै स्वास्थ्य केन्द्रलाई तीन सेटका दरले सुरक्षा कवच (पीपीई), मास्क, पञ्जा, औषधिहरू आवश्यक मात्रामा वितरण गरेको जानकारी
दिनुभयो ।
बजारमा अभाव र अति महङ्गो रहेको थर्मन गन कुनै पनि स्वास्थ्य केन्द्रलाई दिन नसकिएको अबस्थामा इन्सेकले थर्मल गन र मास्क उपलब्ध गराउँदा तत्कालै थर्मल गनबाट शरीरको तापक्रम नाप्न सुरू गरिने बताउनु भयो ।
नगरपालिका भित्र रहेको अन्य ६ ओटा स्वास्थ्य केन्द्रलाई पनि नगरपालिकाले थर्मल गन खरिद गरी पठाउने तयारी गरेको जानकारी दिदै उहाँले प्रत्येक स्वास्थ्य केन्द्रमा असारसम्मका लागि पुग्ने औषधिलगायतका स्वास्थ्य सामग्री पठाइएको बताउनु भयो ।

रमेश गिरी