इन्सेकको पहलपछि कृषि र पशु विकास कार्यलयमा बजेट विनियोजन

बुद्धभुमि नगरपालिकाले प्रथम नगरसभावाट कृषि, पशु विकास शाखाको बजेट विकास निर्माणमा लगाएपछि बजेट विहीन बनेका कार्यालय इन्सेक र मानव अधिकार निगरानी समूहको पहलमा बजेट विनियोजन गरी कृषकहरूलाई धानको विउ मल तरकारीका विउ र पशुसम्बन्धी औषधि खरिद गरि बाँड्न थालिएको छ ।

इन्सेक र मानव अधिकार निगरानी समूहले ०७४ माघ महिनामा आयोजना गरेको वहस तथा सार्वजनिक सुनुवाइमा ब्यापक रूपमा सेवाग्राहीले कृषि र पशु कार्यालयलाई बजेट नहुदा सेवा सुविधा पाउन नसकेको कुरा उठाएपछि र नगर प्रमुखले दोश्रो नगरसभावाट बजेट छुट्याउने प्रतिबद्धता जनाएका थिए ।

फागुन २८ गते सम्पन्न भएको दोश्रो नगरसभाले अन्य शिर्षकवाट रकमान्तरगरी कृषि तथा पशु कार्यालयलाई २५ लाख ५० हजार रूपियाँका दरले दुवै कार्यालयलाई बजेट विनियोजन गरेकोमा ०७५ जेठ २० गतेदेखि कृषि शाखाले धानको विउ, मल, तथा तरकारीका विउ खरिद गरी कृषकहरूलाई वितरण गर्न थालेको छ ।

पशु शाखाले पनि जेठ २० गतेदेखि नै घाँसको विउ तथा पशुहरूलाई आवश्यक भ्याक्सिन, जुकाको औषधिलगायतका सामग्री खरिद गरी वितरण सुरू गरेको छ । इन्सेक तथा मानव अधिकार निगरानी समूहले उठान गरेको विषयको नगरपालिकाले सम्बोधन गरी कार्यान्वयमा समेत आएको छ ।

नन्दराम पौडेल