इन्सेकको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  ०७३ मङ्सिर ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा मङ्सिर ८ गते जलबिरे र बराम्ची गाविसको बीचमा रहेको ढाडे बजारमा भूकम्पपछिको पुनर्निर्माण र मानव अधिकारका सवालका विषयमा सावजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

photo20161124sindhupalchok1

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केसीले इन्सेकको कार्यशैली र कार्यक्रम नागरिकको अधिकारमूखी भएको बताए । नेपाली काङ्गेसका प्रतिनिधि निरबहादुर पौड्यालले भूकम्पपीडितले पुनःनिर्माणको लागि ५० हजार रुपियाँ लिनुभन्दा अगाडि केही ब्यक्तिहरूले आफ्नै किसिमले घर निर्माण गरेकोमा त्यसको लेखाजोखा नभएको बताए ।

photo20161124sindhupalchok

नेकपा एमालेका प्रतिनिधि रबिन्द्र घिमिरेले भूकम्प पीडितले गुनासो गर्न जिल्ला प्रशासन कार्यालयमा जाँदा प्रमुख जिल्ला अधिकारीले ध्यान नदिने गरेको आरोप लगाए । एकीकृत नेकपा माओवादी केन्द्रका प्रतिनिधि तुलानाथ घिमिरेले राहतका लागि छुट भएकाहरूको छिट्टै टुङ्गो लगाउनु पर्ने बताए ।

photo20161124sindhupalchok3

महिला सञ्जालकी अध्यक्ष जुना श्रेष्ठले पुनःनिर्माणको लागि सरकारले दिएको ५० हजार रुपियाँ पुरूषहरूले मादक पर्दाथ सेवन गरेर सकेकाले मादक पदार्थ सेवन र जुवातास बन्द गराउन जिल्ला प्रहरी कार्यालयमा गोप्य रूपमा उजुरी गर्न जाँदा आफ्नो गोपनीयताको हक खोसिएको आरोप लगाइन् ।

photo20161124sindhupalchok2

सार्वजनिक कार्यक्रममा सहभागीहरूले राखेको जिज्ञासाको जबाफ दिँदै जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र केसीले आफूले जिल्ला तहमा रहेर गर्न सक्ने सबै कार्य गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा ४१ जना महिलासहित १ सय २० जनाको उपस्थिति रहेको थियो ।

नातिबावु धिताल