इन्सेकको आयोजनामा मिडिया साझेदारी बैठक सम्पन्न

  ०७३ मङ्सिर ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा मानव अधिकार संरक्षण तथा सम्बर्द्धनको लागि मिडिया साझेदारी बैठक मङ्सिर ३० गते नारायणगढमा सम्पन्न गरिएको छ ।

photo20161215chitwan1

कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले मिडियाले मानव अधिकारसँग सम्बन्धित घटनालाई अझै प्रभावकारी रूपमा उजागर गर्नुपर्ने धारणा राखेका थिए ।

मानव अधिकारसँग सरोकार राख्ने विषयमा पत्रकारहरूले खासै चासो नदिएको भन्दै क्षेत्रीय संयोजक गौतमले राज्यलाई दायित्वबोध गराउने मिडियाले गाउँ समाजमा हुने मानव अधिकार संरक्षणका साथै उल्लङ्घनका घटनालाई पनि बढी भन्दा बढी चासो दिएर प्रकाशन तथा प्रशारण गर्नुपर्ने बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय सचिव राजेन्द्र पौडेलले मिडियालाई मानव अधिकार घटनामा संवेदनशील भई लाग्न सुझाव दिए ।

उक्त कार्यक्रममा मिडियाले के कस्ता मानव अधिकारसँग सरोकार राख्ने विषयलाई उठान गर्न सक्छ भन्ने विषयमा चितवनका पत्रकार, मानव अधिकारकर्मीबीच छलफल भएको थियो । ३० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा पत्रकारहरूले मानव अधिकार घटना रिर्पोटिङ्मा आफूहरू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दिपेन्द्र अधिकारी