आवास निर्माणको लागि सरकारी प्रक्रिया झञ्झटिलोः भूकम्प पीडित

  ०७३ मङ्सिर १९ गते

आवास निर्माणको लागि सरकारी कार्यालयहरूमा तोकिएको प्रक्रिया झञ्झटिलो भएको बेताली गाविसका भूकम्प पीडितहरूले गुनासो गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा गाविसको कार्यालय बेताली, युएसएड्/साझेदारी विकास परियोजना, गोगो फाउण्डेसन र जनभावना युवा क्लबको आयोजनामा मङ्सिर १८ गते बेताली गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितहरूले यस्तो गुनासो गरेका हुन् ।

बेताली-८ वडा नागरिक मञ्चका संयोजक कृष्णप्रसाद घिमिरेले भने-'हामी पीडितको सहयोगका लागि आएका होलान् भनेको त इञ्जिनियरले हरेक विषयमा झण्झट खडा गरिदिँदा रहेछन् ।'

बेताली-३ का पुण्यबहादुर बस्नेतले भने-'इञ्जिनियरको काम घर हेर्ने हो कि कमाउने हो ? इञ्जिनियरलाई सरकारले तलव दिँदैन कि के हो ? यहाँ आएका इञ्जिनियर पैसा पाए घर पास गरिदिने भनि हिँड्छन् ।"

सार्वजनिक सुनुवाइमा बेताली गाविसका गाविस सचिव पुण्यप्रसाद बराल, स्वास्थ्य चौकी बेतालीका इञ्चार्ज कपिलदेव अधिकारी, पुनःनिर्माण प्राधिकरणका इञ्जिनियर सुरज साही, सामुदायिक विकास समाज (गोल) का रामहरि योगी, लि-वर्डकी नारायणी आचार्यलगायतले सहभागीहरूले राखेका जिज्ञासाका बारेमा जानकारी दिएका थिए ।

सार्वजनिक सुनुवाइमा पूर्व नागरिकहरूबाट सेवाको सन्तुष्टी मापन गर्न ५०/५० जनासँग नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमत भराई सुनुवाइमा सुधारात्मक विषयहरू प्रस्तुत गरिएको थियो ।

नवराज पथिक