आवासको अधिकारका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल, जिल्ला शाखा रौतहटले चन्द्रपुर नगरपालिकासँगको समन्वयमा असोज १६ गते चन्द्रपुर नगरपालिका–९ चेतनगरमा आवासको अधिकारका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा जिया माझीले तीन महिनामा पुरा गर्नुपर्ने जनता आवास अन्तर्गतको घर निर्माण कार्य हाल आठ महिना बितिसक्दा पनि निर्माण नभएको आरोप लगाउनु भयो ।

टैटीदेवी माझीले घरमा पिल्लर तथा जस्तापाता नभएको गुनासो गर्नुभयो र चाँडै नै जस्तापाताको व्यवस्था सरकारले गर्नुपर्ने माग गर्नुभयो ।

सियामा माझीले वर्षायाममा जग्गा नभएकाले सोको व्यवस्था गर्न स्थानीय सरकारले वास्ता नगरेको आरोप लगाउनु भयो ।

जनता आवास निर्माण समितिका अध्यक्ष राजबिरका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत दलित बस्तीको घर निर्माण कार्य सम्झौता भन्दा बढी नै काम गरेको बताउनुभयो ।

कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष गोविन्द दुलालले पिउने पानीको लागि सार्वजनिक रूपमा एउटा धारा हाल्ने बताउनुभयो ।

त्यसैगरी जनता आवास कार्यक्रम अन्तर्गतको बाँकी कामको लागि प्रदेश सरकार तथा नगरपालिकामा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
photo20211004rautahat

त्यसैगरी गरुडा नगरपालिका–६ पोठियाहीमा असोज १६ गते आवास अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा मिनादेवी रामले जनता आवास कार्यक्रम छनौट प्रक्रियामा सबै दलितहरुलाई सहभागी गराई सबैको सहमतिमा भएको तर तीन महिनामा पुरा गर्छु भनेर सूरू गरेको घर आठ महिना बितिसक्दा पनि नसकेकाले समस्या परेको बताउनुभयो ।

स्थानीय जयराम रामले दलितको प्रतिनिधित्व नभएकाले समयमा काम नसकिएको आरोप लगाउनु भयो ।

सुनैनादेवी माझीका अनुसार वर्षात्को समयमा छाना नभएका कारण सबै खानेकुरा, लत्ताकपडा, बिस्तारालगायतका सामान भिजेकाले बिचल्ली भएको बताउनु भयो ।

शिक्षक सचिदानन्द रामले नगरपालिकाले गरिब परिचयपत्र लागु गरेर जनतालाई सर्वसुलभ सेवा पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

गरुडा नगरपालिका–६ का वडा सदस्य काशि मण्डलले अन्तरक्रियामा उठेका सवालहरूलाई वडा तथा नगरपालिकामा प्राथमिकताका साथ छलफल गर्ने र त्यसलाई लागु गर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

photo20211004rautahat

कोपिला तिमल्सिना