आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका विषयमा संवेदनशिल हुन सरोकारवालाको आग्रह

  ०८१ असार १४ गते

नागरिक तथा राजनीतिक अधिकार केही प्राप्त भइसकेकोले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका विषयमा थप काम गर्न सरोकारवालाहरूले इन्सेकलाई आग्रह गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेशका मानव अधिकार अधिकृत दिपक ठाकुरले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक स्रोत पुस्तिकाको रूपमा रहेको बताउँदै आगामी दिनमा इन्सेकले विजनेश र मानव अधिकार सवालमा पनि अभिलेख गर्नुपर्ने बताउनु भयो । मानव अधिकारको विषयमा प्रगति उन्मुख भएको भन्दै मानव अधिकारको संस्कृतिको विकासका लागि समन्वय र सहकार्यलाई अगाडि बढाउनुपर्ने बताउनु भयो ।

इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले मानव अधिकारको संरक्षण, प्रवर्धन गरी पीडितलाई न्यायमा पहुँच पुर्‍याउनका लागि प्रहरीले संवेदनशिल भएर अगाडि बढेको बताउँदै प्रहरी अग्रह पङ्क्तिको रक्षक भएकोले मानव अधिकारप्रति गम्भीर रहेको बताउनु भयो ।

डिएसपी पण्डितले नेपाल प्रहरी मानव अधिकारको विषयमा गम्भीर भएर अगाडि बढिरहेको बताउँदै गैरराज्य पक्षबाट हुने घटनाहरू बढेकाले नागरिकलाई सचेत बनाउनुपर्नेमा अबका छलफलहरू तय गर्नुपर्ने बताउनु भयो । उहाँले प्रहरीले शून्य यातनामा विश्वास गरेको सोही अनुसार अगाडि बढिरहेको बताउँदै सूचना दिने क्रममा दिन मिल्ने सूचना प्रहरीले दिने गरेको र राज्यको अङ्ग भएको कारणले आरोपित व्यक्तिहरूको मानव अधिकारको विषयमा पनि आफूहरू गम्भीर भएर अगाडि बढेको बताउनु भयो । साधन श्रोतको हिसावले प्रहरीहरू अस्थायी युनिटको रूपमा राखिएकोले त्यसमा बजेट केही हुँदैन् । उहाँले पालो गरेर सुत्नुपर्ने बाध्यतामा प्रहरीले सेवा दिइरहेको बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले मानव अधिकारको सूचकाङ्कको अवस्थालाई हेरेर धारणा बनाउन नहुने भन्दै मानव अधिकारको सवालमा खाद्य अधिकारका विषयमा अखाद्यवस्तुको मिसावट गर्नु मानव अधिकार विरुद्धको कार्य भएकोले यस्ता विषयमा पनि इन्सेकले अनुगमनलाई ध्यान दिनुपर्ने बताउनु भयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरेले जिल्लामा मानव अधिकारको अवस्थाको हिसावले दुई ओटा पाटाबाट हेर्नुपर्ने भन्दै घटना नघटुन भन्नका लागि सचेतनाका कार्यक्रम सञ्चालन र घटनाका आरोपितहरूलाई कानुनी दायरामा ल्याउने खालका कार्यक्रमहरू महत्त्वपूर्ण रहेको बताउनु भयो । अध्यक्ष गैरेले जिल्लाको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिने निकाय जिल्ला प्रशासन कार्यालय भएकोले जिल्लाका मानव अधिकारकर्मीहरूको आधारभूत मानव अधिकारको प्रत्याभूत गराउन जिल्ला प्रशासन जवाफदेही हुनुपर्ने बताउनु भयो । मागेर सेवा दिन नसकिने भन्दै यसका लागि राजनीतिक दलको भूमिका राज्यलाई घचघच्याउने भएकोले नेकपा एमालेको तर्फबाट मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि सधैँ सक्रिय र संवेदनशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इलाका प्रशासन कार्यालय, बुटवलका प्रशासकीय अधिकृत ज्ञान कुमारी भुसालले मानव अधिकारको विषयमा इन्सेकले गरेको काम असाध्यै महत्त्वपूर्ण भएको भन्दै मानव अधिकारको सवालमा सबै सचेत र संवेदनशिल भएर अगाडि बढ्ने र उठेका विषयहरूलाई सम्बन्धित निकायमा पठाउने बताउनु भयो । उहाँले राष्ट्रिय परिचय पत्रको विषयमा मान्छेसँगै नागरिकता पनि पुरानो हुँदै गएकोले प्रतिलिपि ल्याउन आउनेको सङ्ख्या बाक्लो भएकोले यस्ता विषयमा पनि हामीले सक्दो राम्रो सेवा दिने बताउनु भयो ।

नेपाली काग्रेसका नगर उपसभापति ज्योति भण्डारीले इन्सेकले लामो समयदेखि नागरिकको अधिकारको विषयमा सचेत गराउदै समग्र मानव अधिकारको अवस्थाको विषयमा प्रस्तुत गरेकोले आफ्नो पाटीको तर्फबाट सुधार गर्नुपनै विषयलाई सुधार गर्दे जाने र मानव अधिकारको विषयमा सचेत गराउने बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसीले मानव अधिकारको विषयमा प्रमुख जिल्ला अधिकारी स्थानीय तहका सबै प्रमुखहरूलाई राखेर कार्यक्रम अलिक बृहत रूपमा राख्नको लागि इन्सेकलाई आग्रह गर्नुभयो । उहाँले मानव अधिकारको विषयमा विभिन्न हिसावले बहस चलाउन इन्सेकका लागि सुझाव दिनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुद्र जिसीले सेवाप्रवाह गर्ने ठाउँमा प्रहरीहरूले पनि धेरै दुख पाएर काम गरिरहेको परिस्थिती रहेकोले त्यस क्षेत्रमा पनि इन्सेकले अनुगमन गरेर सम्बन्धित निकायलाई जवाफदेहि बनाउन आग्रह गर्नुभयो । उहाँले शिक्षाको विषय स्थानीय सरकारको काबु बाहिरको अवस्थामा भएकोले यस विषयमा स्थानीय सरकारलाई दिनुले पनि समस्या भएको बताउनु भयो ।

मानव अधिकार निगरानी समूहका अध्यक्ष अधिकारकर्मी कमला भण्डारीले अस्पताल क्षेत्रमा अव्यवस्थित व्यवस्था माक्स तरकारीहरू बेच्नेको घुइँचो भएकोले यस्तो अवस्था भएकोले बिरामी लगेर अस्पताल हिँडेकालाई थप तनाव बढेकोले यो विषयमा पनि इन्सेकले अनुगमन गर्नुपर्ने बताउनु भयो । उहाँले सडक दुर्घटनाका घटनालाई पनि इन्सेकले अभिलेख गर्न जोड आग्रह गर्नुभयो ।

अधिकारकर्मी राधा अधिकारीले राज्यले दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था नगर्दा पनि अस्पतालमा विभिन्न समस्या आएको भन्दै यस्ता विषयमा पनि इन्सेकले अनुगमन गरेर राज्यलाई जवाफदेहि बनाउनु पर्ने बताउनुभयो । पालिकामा शिक्षाका लागि सरकारले दुई जना मान्छे र १३ ओटा बुँदाहरू पठाएको भन्दै यस्तो अवस्थामा कसरी राम्रो शिक्षा हुनसक्छ । प्राविधिकलाई लगेर शिक्षा प्रमुख बनाइएको छ । यस्तो अवस्थामा उसले कसरी गुणस्तर शिक्षा दिनसक्छ अधिकारीले भन्नुभयो । होटल व्यवसायीले १० रुपियाँको पानी ५० रुपैयाँ बेचेका छन् । यसको विषयमा कसले कसलाई अनुगमन गर्ने हो यस्ता वेथितिका विषयमा पनि अनुगमन गर्न इन्सेकलाई आग्रह गर्नुभयो ।

रीमा बिसी