आत्महत्या रोकथाम दिवसमा प्रभातफेरी

  ०८० भदौ २४ गते

“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा इन्सेकसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा इनरूवा नगरपालिकामा भदौ २४ गते प्रभातफेरी तथा र्‍याली कार्यक्रम सम्पन्न गरिएको छ ।

Photo 20230910 sunsari

इनरुवा नगरपालिकाको आयोजना र मानवअधिकार रक्षकको क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैरसरकारी संस्था महासंघ, ओरेकलगायतका सङ्घसंस्थाहरूको सहकार्यमा नगरपालिकाको कार्यालयदेखि शान्तिचौक, गोल चौक, इनार चौक, प्रहरी कार्यालय हुँदै पुन इनरूवा नगरपालिका परिसरसम्म र्‍याली कार्यक्रम गरी विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ ।

इनरूवा नगरपालिकाका मेयर केदार भण्डारीले आत्महत्याको सोच आफूभित्र रहेको एउटा दानवीय सोच भएको र जीवनका हरेक खुशी र आँशुलाई सकारात्मक ढङ्गले लिए यो सोच कहिले हाबी नहुने बताउनु भयो । उहाँले सास रहेसम्म हरेक कष्ट मेटिन सक्छ, असफल व्यक्तिहरूले पनि जुनसुकै मोडमा दोस्रो मौका पाउन सक्ने भएकाले आशामा बाँच्न आग्रह गर्नुभयो ।

आत्महत्या रोकथामका लागि परामर्श अभियान चलाउनुपर्ने र यसलाई समेटेर नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने खाँचो रहेको इनरूवा नगरपालिका उपमेयर विनिताकुमारी मेहताले बताउनु भयो ।

गैरसरकारी संस्था महासङघ, सुनसरी अध्यक्ष मेघराज न्यौपानेले मानिसले मुख्य गरी मनसिक तनाव, व्यक्तिगत असफलता, किशोरकिशोरीमा बढ्दो निराशा, सामाजिक उत्पीडन, असफल प्रेम सम्बन्ध, आर्थिक समस्या, सांस्कृतिक विभेद, छुवाछुत र विभिन्न असफलताजस्ता कारणले समाजमा आत्महत्या हुने गरेको बताउनु भयो ।

आत्महत्या रोकथामका लागि गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आत्महत्या रोक्नको लागि सचेतनामुलक कार्यक्रम नियमित गर्नुपर्नेमा जोड दिनुभयो । ‘मानिसको जीवन अमूल्य छ । यसलाई जोगाउन सबै पक्षले आ–आफ्नो तबरबाट लाग्नुपर्ने पर्छ,’ उहाँले भन्नुभयो, ‘यस किसिमको सचेतनामुलक कार्यक्रम नियमित गर्नुपर्ने हुनुपर्छ ।’

सोही अवसरमा इनरूवा नगरपालिका–५ बलाहामा भदौ २४ गते विद्यार्थी बालबालिकाहरूलाई आत्महत्या रोकथाम बारे अभिमुखीकरण गरिएको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा इन्सेक, जिल्ला प्रशासन कार्यालय, ओरेकलगायतका सङ्घसंस्थाहरूको सहकार्यमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निराला भण्डारी, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मेघराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, इन्सेक प्रतिनिधि जयकृष्ण यादव, ओरेकी विमला घिमिरे लगायतले आत्महत्या नियन्त्रण तथा रोकथाम सम्बन्धी प्रशिक्षण दिनु भएको भएको छ ।

जयकृष्ण यादव