अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८० असार १७ गते लगनखेलमा सम्पन्न भएको छ ।
समीक्षामा जिल्ला प्रतिनिधिले ललितपुरमा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सन् २०२३ को जनवरीदेखि जुन सम्मको अवधिमा जिल्लामा ६ महिनाका अवधिमा ५१ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएका छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को तयारीका लागि इन्सेकले सार्वजनिक गरेको अर्ध वार्षिक प्रतिवेदनमा सन् २०२३ जनवरीदेखि जुनसम्मको अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ ।
इन्सेक प्रतिनिधिले असार १७ गते प्रस्तुत गरेको प्रतिवेदन अनुसार बालिका बलात्कारका घटनामा पाँच वर्षदेखि १८ वर्षका २४ जना पीडित भएका छन् । उक्त ६ महिनामा यौन दुर्व्यवहार र बलात्कार प्रयासका नौ ओटा घटना भए । जिल्लामा १२ जनाको हत्या प्रयास भएको छ भने शरीर बन्धकको एक, बहुबिवाहका दुई, बालबिवाहका एक, गर्भ संरक्षणविरूद्धको एक र विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि निर्घात कुटपिट भएको एउटा घटनाको अभिलेख गरिएको छ ।
कार्यक्रममा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जिल्लामा मानव अधिकार रक्षाका लागि इन्सेकले अभिलेख गरेको प्रति खुशी व्यक्त गर्दै इन्सेकले तयार पारेको अभिलेख र पुस्तक ललितपुरका प्रत्येक स्थानीय सरकार र जिल्लास्थित सरोकारवाला सरकारी निकायमा पुर्याउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, 'मानव अधिकारको सम्मान, संरक्षण र प्रबर्धनका लागि सबैको साझा प्रयास हुनु पर्दछ । अहिले बढ्दो यौनजन्य हिंसाका घटना न्यूनीकरणका लागि सबैको साझा प्रयासबाट विद्यालयमा शिक्षा दिने र सामाजिक सचेतना जगाउने काम गर्नुपर्ने खाँचो रहेको छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले देशको मानव अधिकारको अवस्थाका आधारमा विश्वले मुलुकलाई हेर्ने भएकोले इन्सेकले गैर सरकारी प्रतिवेदन वर्षौँदेखि निरन्तर प्रकाशित गर्दै आएकोले राज्यलाई थप जवाफदेही बनाउन इन्सेकको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।
प्रहरी परिसर जाउलाखेलका एसपी एवम् प्रवक्ता नवराज कार्कीले किशोरकिशोरी इन्टरनेटको पहुँचका कारण बलात्कार, यौन दुर्व्यवहार, हिंसा तथा हत्या लगायतका अपराधका घटनामा मुछिएका भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, 'हामीले मानव अधिकारको कुरा गरिरहँदा मानव कर्तव्यका बारेमा समेत सचेतना जगाउनु पर्ने खाँचो देखेका छौँ ।' उहाँले कुनै पनि घटनाको अनुसन्धान प्रहरीले गर्ने र सरकारी वकिलको कार्यालयले सहजीकरण गर्ने जानकारी दिनुभयो । प्रहरीले सामाजिक सद्भाव सहित मिलापत्र गर्न मिल्ने घटनालाई मिलापत्रको माध्यम र तीन वर्षभन्दा बढी कैद सजाए हुने घटनामा सोही अनुसारका तथ्य र कारण सहित प्रतिवेदन बनाइ पेस गर्ने गरेको बताउनु भयो ।
नेकपा एमाले ललितपुरका कार्यालय सचिव रमेशचन्द्र घिमिरेले नेकपा एमाले मानव अधिकारप्रति प्रतिबद्ध पार्टी भएको उल्लेख गर्दै राज्य जनता र मानव अधिकारप्रति उत्तरदायी हुनु पर्नेमा जोड दिनुभयो । उहाँले कतिपय घरेलु हिंसाका घटनामा पीडितलाई न्याय नदिइ मिलापत्र हुने तर हदम्याद नाघेपछि मात्र सार्वजनिक हुने गरेको प्रति ध्यानाकर्षण गर्नुभयो ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रविन शर्माले देशमा नागरिक तथा राजनीतिक अधिकार प्राप्त भएपनि मानव अधिकारको अवस्था खस्कदै गएको उल्लेख गर्दै समतामुलक समाज निर्माणमा श्रमको सम्मान, क्षमताको कद गर्दै शिक्षा र स्वास्थ्यका लागि राज्यको पूर्ण जिम्मेवारी भएमा मात्र सम्भव हुने बताउनु भयो ।
गैर सरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य टिकाराम दाहालले समाजबाट अपराध घटाउन नैतिक शिक्षा अघि बढाउन जरुरी रहेको सुझाव दिनुभयो । उहाँले ललितपुरको कर्णाली मानिने दक्षिण ललितपुरमा अपराधका घटना हुँदा पनि उजुरी हुन नसकेको उल्लेख गर्दै के कारणले सो हुन पुगेको हो भन्नेमा ध्यान दिन अनुरोध गर्नुभयो ।
उहाँले काठमाडौँ उपत्यकाका घरहरूबाट दैनिकरुपमा १५ हजार टन फोहोरमैला निस्कने गरेको उल्लेख गर्दै तीनै तहका सरकारले फोहोर मैला व्यवस्थापनका लागि उचित ध्यान नदिएको बताउनु भयो ।
ललितपुर महानगरपालिका वडा नं. ५ का सदस्य शोभादेवी प्रधान श्रेष्ठले समाजमा लुकेका सबैजसो घटनाहरू खोजी गरी प्रकाशनमा ल्याउन सके समाजमा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले इन्सेकको वर्ष पुस्तकमा प्रकाशित हुने घटनाहरू परीक्षण गर्ने पद्धति राम्रो भएको बताउँदै आएका सुझाव अनुसार सुधार गर्दै लान सुझाव सहित ललितपुर महानगरपालिका क्षेत्रका कृषि योग्य जमिनलाई आवासीय क्षेत्रमा वर्गीकरण भएको विषय महानगरको नगरसभामा छलफल गर्ने बचन दिनुभयो ।
पत्रकार सन्तोस दाहालले विद्यालयमा विद्यार्थी माथि हिंसा भएको घटनालाई उजुरी नआएको भन्दै प्रहरीले चासो नदेखाएको प्रति ध्यानाकर्षण गर्नुभयो ।
निरन नेपालका विश्वनाथ न्यौपानेले समाजमूखि कानुन र व्यवहारीक पक्ष नमिलेको उल्लेख गर्दै कुष्ठाले नै हिंसा बढेको दाबी गर्नुभयो ।
सारथी नेपालका अध्यक्ष मैया दाहालले महिला हिंसाका घटना न्यूनीकरणका लागि सहकार्यका लागि आग्रह गर्नुभयो । उहाँले स्वच्छ वातावरणमा बाँचन पाउने नागरिक अधिकारलाई सरकारले प्राथमिकता दिन नसकेको बताउनु भयो ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार परिचालन कोष हस्तान्तरण
दुल्लू नगरपालिकास्थित ने.रा. मावि, किर्तिखम्ब, प्रेम देवी मावि, पादुका र चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित जयदेव मावि, जम्बकाँध, जनता मावि, बस्तेकोटका विद्यालयहरूमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल…
मानव अधिकारकर्मी एवम् इन्सेक जिल्ला प्रतिनिधि रावल सम्मानित
मानव अधिकारकर्मी एवम् इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावल सम्मानित हुनुभएको छ । लामो समयदेखि मानव अधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कलम चलाउँदै आउनुभएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान…
यूपीआरको प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय छलफल सम्पन्न
इन्सेकले पोखरामा असोज १८ गते एक कार्यक्रमको आयोजना गरी विश्वव्यापी आवधिक समीक्षा(युपिआर) का लागि प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय छलफल गरेको छ । चौथो चरणको समीक्षाअन्तर्गत सन् २०२६ को जनवरीमा यूपीआरमा नेपालको…
बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तरगतको मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ असोज १८ गते आर्थिक सहयोग १० हजार रुपियाँ प्रदान गरेको…
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्न प्रतिबद्ध छुःमन्त्री सार्की
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्ने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले प्रतिबद्धता जाहेर गर्नुभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १८…