अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएको सन् २०२२ का घटनाको पूर्व समीक्षा कार्यक्रम ०७९ असार ६ गने मन्थलीमा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले संयुक्त रूपमा आयोजना गरेको रामेछापको सन् २०२२ को अर्ध वार्षिक मानव अधिकार स्थिति समीक्षा कार्यक्रममा घटनाको अर्ध वार्षिक समीक्षा गरिएको हो ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नबराज पथिकले सन् २०२२ को पहिलो ६ महिनामा १४ ओटा घटना सङ्कलन भएको जानकारी दिनुभयो । ती मध्ये अधिकांश बलात्कारका घटना भएको पथिकले बताउनुभयो ।
यस बाहेक निर्वाचनको मौन अवधिमा राजनीतिक दलबीच भएका झडपका घटना प्रमुख रहेको उहाँले जानकारी दिनुभयो ।
चुनावको समयमा हुने नागरिक तथा राजनीतिक अधिकार उल्लङ्घनका घटना विगतको भन्दा कम भएका भए पनि मौन अवधिमा हुने घटना भने बढेको छलफलका सहभागीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले विगतका चुनावलाई हेर्दा यस पटकको चुनाव शान्तिपूर्ण भएको तथ्याङ्कले देखाएको बताउनुभयो ।
तथापि मौन अवधिमा भने धेरै उल्लङ्घनका घटना राजनीतिक दलको तर्फबाट भएको उहाँले बताउनुभयो ।
मौन अवधिमा राजनीतिक दलका नेता कार्यकर्ता रातभरि सक्रिय हुँदा नागरिकले स्वतन्त्रतापूर्वक मतदान गर्न नपाउने हुन् कि भन्ने चिन्ता थपिएको उहाँले बताउनुभयो । यसले चुनावलाई समेत प्रभावित पार्ने थिङको भनाई छ ।
आउने चुनावमा यसलाई हेरेर सुरक्षा रणनीति बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
थिङले रामेछाप जिल्लामा समग्रमा हेर्दा महिला हिंसा, बलात्कार र आत्महत्याका घटना बढ्दै गएको बताउनुभयो ।
यस वर्ष एउटा पनि हत्याको घटना प्रहरीमा दर्ता नहुनु मानव अधिकारको हिसाबले सुखद कुरा भएको उहाँले बताउनुभयो ।
जिल्ला महान्यायाधिवक्ता योगन्द्रप्रसाद ढुङ्गेलले पीडितलाई न्याय दिलाउने कुरामा जिल्ला न्यायाधिवक्ताको कार्यालयको महत्पूर्ण भूमिका हुने बताउनुभयो ।
मानव अधिकारको संरक्षण गराउने कुरामा कार्यालय र त्यसका अधिकारी सदैव क्रियाशील हुने उहाँले प्रष्ट पार्नुभयो ।
जिल्ला अदालत रामेछापका श्रेस्तेदार रामप्रसाद पौडेलले मानव अधिकारको अवधारणा दिन दिनै परिवर्तन हुँदै गएको बताउनुभयो ।
त्यसलाई स्थापित गराउनु अति आवश्यक र चुनौतीपूर्ण काम बन्दै गएको उहाँको भनाइ छ ।
पौडेलले मानव अधिकार स्थापित र पालना गराउने कुरामा सबैभन्दा महत्त्वपूर्ण भूमिका अदालतको भएको बताउनुभयो । पछिल्लो समय अदालतले पीडितको छिटो न्यायको लागि समय नै निर्धारण गरेरै मुद्दा छिन्ने गरेको उहाँले स्मरण गराउनुभयो ।
अदालतमा ७ वर्षीय बालिकादेखि ९० वर्षकी वृद्ध महिला समेत बलात्कृत भएका मुद्दा आउने गरेको भन्दै उहाँले मानव अधिकारको हिसाबले यो चिन्ताको विषय भएको बताउनुभयो ।
यसै गरी सम्बन्ध विच्छेदका मुद्दा बढ्नुले पारिवारिक हिंसा र बाल अधिकार हननका घटना बढेको देखिने उहाँले बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवम् मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले मानव अधिकार संरक्षण, संवर्धन र प्रवर्धनमा सबैको भूमिका हुने भएकोले सबैलाई जिम्मेवार बनाउन सञ्जालले विगत १५ वर्षदेखि काम गर्दै आएको बताउनुभयो ।
सञ्जाल स्वयंसेवी र कसैसँग पैसा नलिई काम गर्ने नेटवर्क भएको पनि उहाँले प्रष्ट पार्नुभयो ।
नबराज पथिक
सम्बन्धित इन्सेक गतिविधिहरू
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…