अब बन्ने संरचना अपाङ्गतामैत्री हुनुपर्नेमा जोड

  ०७९ जेठ १६ गते

अब बन्ने संरचना अपाङ्गतामैत्री हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइएनएफ र अपाङ्गता स्वबलम्वन विकास सङ्घ(डिडा) नेपालले जेठ १३ गते गोरखा सदरमुकाममा आयोजना गरेको सेवाग्राही र सेवा प्रदायक निकायबिच पँहुचयुक्त भौतिक संरचनासम्बन्धी नीतिगत संवाद कार्यक्रमका सहभागीहरूले सो विषयमा जोड दिएका हुन् ।

सरकारी कार्यालय, सडक, शौचालय लगायतका संरचना अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिको सहज आवातजावातमा बाधा परेको उनीहरूले बताए ।

आउँदा दिनमा संरचना बनाउँदा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको पँहुच पुग्ने गरी बनाउन पहल गर्ने गोरखा नगरपालिका–३ का वडा अध्यक्ष चुमबहादुर कुँवरले बताउनु भयो ।

गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाले वडा कार्यालय पुग्ने शारीरिक रूपमा अपाङ्गता भएकाहरूलाई सेवामा सहजताका लागि भुँइ तलामा बसेर सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

गोरखा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशीले अपाङ्गतामैत्री सेवाप्रवाहमा सजक रहेको बताउनु भयो ।

राष्ट्रिय अपाङ्गता महासङ्घका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्याक्तिलाई उद्यमशील बनाउनुपर्ने बताउनु भयो ।

‘अपाङ्गता भएका व्यक्ति काम गरेर खान चाहन्छन् । आफ्नो गोडामा उभिन चाहन्छन् ।’–उहाँले भन्नु भयो ।

अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता र पहुँच रहेकामा उहाँले चिन्ता व्यक्त गर्नु भएको छ ।

अपाङ्गताको क्षेत्रमा कानुन बनेपनि कार्यान्वयन हुन नसकेको इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताउनु भयो ।

‘भवन निर्माण आचारसंहिता हेर्दा संरचना अपाङ्गतामैत्री हुनुपर्छ भन्ने छ । तर, अझै पनि सार्वजनिक भवन अपाङ्गतामैत्री छैनन् ।’–उहाँले भन्नु भयो–‘कानुनको अभाव होइन । कानुन कार्यान्वयन गर्न पछि परेका हौँ ।’

सडक, सार्वजनिक भवन, विद्यालय अपाङ्गतामैत्री हुनुपर्छ भनेर अधिकारकर्मीले निरन्तर खबरदारी गरिरहेको उहाँले बताउनु भयो ।

photo20220530gorkha (1)

photo20220530gorkha (2)

photo20220530gorkha (3)

हरिराम उप्रेती