अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

  ०८१ मङ्सिर २५ गते

Photo 20241210 Dhanusha (6)

“हाम्रो अधिकार, हाम्रो भविष्य, आज नै” भन्ने मूल नाराका साथ ७६ औ‌ं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरी मङ्सिर २५ गते जनकपुरधाममा मनाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग, एडभोकेसी फोरम, माइती नेपाल र एम्नेष्टि इन्टरनेशनल नेपाल लगायत संघ संस्थाहरूले संयुक्त रुपमा आज विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।

Photo 20241210 Dhanusha (1)

जनकपुरधामको रेल वे स्टेशनबाट निकालिएको प्रभातफेरी भानुचाेक, शिव चोक, जनक चोक, जानकी चोक हुँदै देवी चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

कोण सभामा उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले नागरिकको आधारभूत मानव अधिकार नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरिएको बताउनु भयो । नागरिकले सहज रुपमा आफ्नो अधिकारको उपभोग गर्न सके मात्र मानव अधिकारको सुनिश्चितता हुने उहाँले उल्लेख गर्नु भयो ।

नागरिकको मानव अधिकार प्रत्याभूत गर्ने जिम्मेवारी राज्यको भएको उहाँले उल्लेख गर्नुहुँदै सबैले समान रुपले मानव अधिकारको प्रत्याभूति पाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मधेस प्रदेशमा दिन प्रतिदिन मानव अधिकारको अवस्था खास्किदै गएकोले राज्य संवेदनशील हुनु पर्नेमा जोड दिनुभयो । मधेसमा नागरिकको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका लागि राज्यले सोच्नुपर्ने बेला आएको उहाँले बताउनु भयो ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले आज दिउँसो जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा शिक्षा मन्त्री रानी शर्मा तिवारीले मानव अधिकारको बारेमा सबैले बुझ्न जरुरी रहेको बताउनु भयो । मानव अधिकार कै बारेमा थाहा नभएको समुदायमा मनव अधिकारसम्बन्धी अभियानहरू सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

Photo 20241210 Dhanusha (7)

नागरिकको मानव अधिकारका लागि सबैले आ–आफ्नो भूमिका र जिम्मेबारी निर्वाह गरेको खण्डमा सबैको मानव अधिकार प्रत्याभूति हुने उहाँले बताउनु भयो ।

मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतोले सामाजिक न्यायका लागि सरकार चिन्तित रहेको बताउनु भयो । राज्यले कर्तव्य निर्वाह नगरेको खण्डमा यहाँ मानव अधिकार उल्लंघन हुने उहाँको भनाई थियो । मानव अधिकार सबैका लागि समान हुनु पर्ने उहाँले उल्लेख गर्नु हुँदै सम्मानपूर्वक तथा मर्यादापूर्वक बाँच्न पाउने नागरिकको हक सरकारले सुचिश्चित गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मधेस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमा बृद्धि भएकोप्रति चिन्ता व्यक्त गर्नु भयो । इन्सेकले अभिलेख गरेको तथ्याङ्क अनुसार गत वर्ष १ हजार १ सय ९२ जना पीडित भएकोमा सन् २०२४ को जनवरीदेखि सेप्टेम्बर अर्थात नौ महिनाको अवधिमा मात्र २ हजार ३२ जना पीडित भएको उहाँले बताउनु भयो । जसमध्ये घरेलु हिंसामा परि १ हजार ५ सय ५३ जना महिलाहरू पीडित भएको उहाँले जानकारी दिनु भयो ।

Photo 20241210 Dhanusha (3)

कानुन राम्रो छ, तर कार्यान्वय गर्ने निकायमा समस्या रहेका कारण नागरिकले मानव अधिकारको प्रत्याभूति गर्न नसकेको इन्सेक मधेस प्रदेश संंयोजक पासवानले बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्ध नारायण सहनीले मानव अधिकारका लागि राज्य संवेदनशील हुन जरुरी रहेको बताउनु भयो ।

नागरिकको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार चुनौतीपूर्ण रहेकोले सरकार तथा सम्बन्धित सरोकारवाला निकायको ध्यान जान आवश्यक रहेको उहाँले बताउनु भयो ।

यसैबीच आज साँझ जनकचोकमा दिप प्रज्वलन गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । दिप प्रज्वलन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय, मानव अधिकारका क्षेत्रमा क्रियाशील इन्सेक मधेस प्रदेश, एडभोकेसी फोरम, महिला मानव अधिकार रक्षक सञ्जाल र ओरेक लगायतका संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Photo 20241210 Dhanusha (5)

संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा मानव अधिकारको विश्व व्यापी घोषणा पत्र जारी गरेको दिनको अवसरलाई पारेर यो दिवस मनाउन थालिएको हो ।

Photo 20241210 Dhanusha (8)

Photo 20241210 Dhanusha (9)

Photo 20241210 Dhanusha (10)

Photo 20241210 Dhanusha (11)

इन्सेक मधेस प्रदेश